काठमाडौं। अनलाइन माध्यमबाट ठगी गरेको आरोपमा प्रहरीले ९ चिनीयाँ र १० नेपालीसहित १९ जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइन कक्षा र अनलाइन मार्केटिङको नाममा मानिसहरूलाई ठगी गर्ने र पैसा तिर्न बाध्य पार्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो।
काठमाडौंको बूढानीलकण्ठ र चण्डोल इलाकाबाट पक्राउ परेका उनीहरूको साथबाट विभिन्न ब्रान्डका १२ थान ल्यापटप, सिमसहितको ७७ थान मोबाइल सेट, ७४ थान सिम कार्ड, छ थान राहदानी, दुई थान डेस्कटप, एक थान राउटर र चार लाख १ हजार ८८० रुपैयाँ पनि बरामद गरेको छ।
पक्राउ पर्ने चिनियाँ नागरिकहरूमा ३३ वर्षीय हुवाङ ह्वानरङ, ३६ वर्षीय सु फुचियाङ, ३४ वर्षीय लान जेङवाई, ४० वर्षीय जि गुओ वाई, २९ वर्षीय जी शुवाङ डी, ३१ वर्षीय गाओ मिङ, ३९ वर्षीय इहोउ पिङ भिनो, ३० वर्षीय चेन डुर लिन र ३९ वर्षीय लिबियन रहेका छन्।
त्यस्तै नेपालीमा दोलखाका ४६ वर्षीय बुद्धिराज श्रेष्ठ र २६ वर्षीय अर्जुन श्रेष्ठ, नुवाकोटका २९ वर्षीय इन्द्र तामाङ, ३६ वर्षीय राजकुमार लामा, काठमाडौंका २५ वर्षीय प्रयास भण्डारी, रामेछापका ३४ वर्षीया रविना सुनुवार, गोरखाकी २० वर्षीया अनु गुरुङ, उदयपुरकी १९ वर्षीया अनिता मगर, लम्जुङका ३४ वर्षीया सुनिता गुरुङ र २२ वर्षीया कृष्टिना लामा रहेका छन्।
उनीहरुले ह्वाट्स एपपमा अनलाइनमार्फत विजेनशमा संलग्न भए ३० प्रतिशतसम्म फाइदा हुने भन्दै नेपाली नागरिकलाई ठगिएको पाइएको प्रहरीले जनाएको छ। ह्वाट्स एपमार्फत टेलिग्राममा खाता खोल्न लगाएर अपरेशन टिचर नामक च्यानलमार्फत ठगी गर्ने गिरोहसम्म पुर्याएको प्रहरीले जानकारी दिएको छ।