काठमाडौं । नेपाल इञ्जिनियरिङ कलेजको विवाद मिलाइदिएबापत ७८ लाख रुपैयाँ घुस लिएको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकलाई विशेष अदालतले ‘घुस खान खोजेको’ आरोपमा मात्रै दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र बलभद्र बाँस्तोलाको इजलासले ‘घुस खानमात्रै खोजेको’ व्याख्या गरी पूर्वआयुक्त पाठक र घुस दिने लम्बोदर न्यौपानेलाई आधामात्र सजाय सुनाएको हो ।
लम्बोदर न्यौपानेबाट रकम लिएर राजनारायण पाठककोमा घुस पुर्याउने ज्ञानेन्द्र झा र भिडियो खिच्ने ध्वजमान मोक्तानले पाठकलाई दुई पटकमा ७८ लाख रुपैयाँ बुझाएको विशेष अदालतमा बकपत्र नै गरेका थिए । विशेष अदालतले उनीहरुबाट ‘डिल’ भएको रकमको आधा अर्थात ३९ लाख रुपैयाँ जरिवाना मात्रै असुल्ने आदेश गरेको छ ।
पूर्वआयुक्त पाठकमाथि घुस खान खोजेको र न्यौपानेलाई घुस दिन खोजेको भन्ने आरोपमा ३/३ वर्ष कैद सजायको फैसला भएको छ । अख्तियारको आयुक्तजस्तो विशिष्ट पदमा बसेकाले पाठकलाई थप ३ महिना कैद हुने फैसला गरेको छ ।
अख्तियारले पाठकमाथि घुस लिइसकेको र फिर्ता गर्न नमान्दा भिडियो बाहिर लिक भएको निष्कर्ष निकालेको थियो । उसले त्यो दावी पुष्टि हुने प्रमाण जुटाएर विशेष अदालतमा मुद्दा हालेको थियो । घुस लिइसकेका पाठकले काम गर्न नसकेपछि पनि रकम फिर्ता गर्न आनाकानी गरेपछि ज्ञानेन्द्रकुमार झा र ध्वजमान मोक्तानले आपसी सल्लाह गरी भिडियो रेकर्ड गरेर त्यसलाई सार्वजनिक गरेका थिए ।
विशेष अदालतले यो पक्षलाई अनदेखा गरी अख्तियारका आयुक्त पाठक र नेपाल इञ्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेबीच घुस लेनदेनको प्रयास (उद्योग) मात्रै भएको ठहर गरेको हो । विशेष अदालतको फैसलामा भनिएको छ, ‘घुस दिन तयारी रहेको अवस्थामा रकम लेनदेन र कामको विषयमा लम्बोदर न्यौपानेसँग संवाद भएको, राजनारायण पाठकबीचको भिडियो सार्वजनिक भएको र घुस रकम लिने दिनेसम्मको कार्य सम्पन्न हुन नपाएको हुँदा भ्रष्टाचारको उद्योगमा कसुर गरेको देखिन आयो ।’