काठमाडौं। नेपाल राष्ट्र बैंकले भर्चुअल तथा क्रिप्टोकरेन्सीसम्बन्धी कुनैपनि कारोबार नगर्न आग्रह गरेको छ।
राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी तथा हाइपरफण्डको कारोबार गैर कानूनी भएको भन्दै त्यस्तो कारोबार नगर्न/नगराउन आग्रह गरेको हो।
‘नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल/क्रिप्टो करेन्सीले कानुनी मान्यता नपाएको, कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानत प्राप्त नभएको र कुनै सुरक्षण नभएको हुँदा भर्चुअल/क्रिप्टो कारोबार गैरकानुनी रहेको छ,’ राष्ट्र बैंकले पाँचौं पटक निकालेको सूचनामा भनिएको छ ‘यस्तो कारोबार, पिरामिडमा आधारित नेटवर्क मार्केटिङ तथा हाइपर फण्डमा सम्पत्ति सुद्धीकरण तथा आतंककारी क्रियाकलाप लगानी, ठगी तथा कर छली, लगानीको असुरक्षा, पुँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी आदि सम्बन्धी जोखिमहरु अन्तरनीहित रहन्छ ।’
राष्ट्र बैंकले यसअघि २०७४ साउन ९ गते, २०७८ भदौ २४ गते, २०७८ माघ ९ गते र २०७९ साउन ३० सार्वजनिक सूचना जारी गर्दै यस्तो कार्य नगर्न आग्रह गरेको थियो। बैंकले यी सूचनालाई बेवास्ता गर्दै भर्चुअल करेन्सी र क्रिप्टोले नेपालमा कानूनी मान्यता नपाएको, यसको जमानत सरकार नभएको र कुनै पनि सुरक्षण नभएकोले जोखिममा नफस्न आग्रह गरेको छ।
‘नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भई नेपाल बाहिर रहेका, फर्म, कम्पनी, संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीले कुनै पनि प्रकारका भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी तथा हाइपरफण्डका कारोबार गरे/गराएको पाइएमा तथा सोको प्रयोग, संलग्नता, सदस्यता, लगानी, स्वामित्व ग्रहण, स्थानान्तरण, विप्रेषण, विनिमय, माइनिङ सम्बन्धी कार्य गर्ने/गराएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुनेछ’ राष्ट्र बैंकद्वारा जारी सूचनामा भनिएको छ।
बैंकले कुनै पनि प्रकारका भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी तथा हाइपरफण्डका कारोबार गरे÷गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो सार्वजनिक सूचनाप्रकाशन गरिएको उल्लेख गरेको छ।