काठमाडौं। जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही, दाङमा कार्यरत इन्जिनियर रामबहादुर रानाभाटले गैरकानूनी रुपमा सवा ३ करोड रुपैयाँ सम्पत्ति आर्जन गरेको खुलेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानबाट अकुत सम्पत्ति कमाएको खुलेको हो।
अख्तियारले इन्जिनियर रानाभाटविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले रानाभाटले सरकारी सेवामा प्रवेश गरेको मिति २०४६ असार ३० देखि २०७९ कात्ति ६ गतेसम्मको उनको आम्दानी र खर्चको विश्लेषण गरी अकुत सम्पत्तिको अंक निकालेको छ।
इन्जिनियर रानाभाटको परिवारले अस्वभाविक र हैसियत भन्दा माथिको जीवनयापन गरेको र ठूलो रकम सेयर बजारमा लगानीका साथै घरजग्गा जोडेको पाइएको अख्तियारले जनाएको छ।
अख्तियारले इन्जिनियर रानाभाटलाई ३ करोड १५ लाख ८१ हजार रुपैयाँ बिगो कायम गरी बिगो बमोजिम जरिवाना र कैद सजाय भाग गरेको छ। मुद्धामा उनकी पत्नी राधालाईसमेत प्रतिवादी बनाइएको छ।
यस्तो छ अख्तियारको आरोप
जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाटले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज राम बहादुर रानाभाटले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको मिति २०४6/03/30 देखि मिति 2079/07/06 सम्मको समग्र आय (आम्दानी) तथा ब्यय (खर्च तथा लगानी) को बिश्लेषण गर्दा निजले जाँच अवधिको दौरान गरेको खर्च, लगानी तथा सम्पत्ति आर्जनमा रु.3,15,81,066।80 (तीन करोड पन्ध्र लाख एकासी हजार छैसठ्ठी रूपैंया असी पैसा) बराबरको सम्पत्तिको स्रोत नखुलेको साथै निज र निजको परिवारले अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरेको¸ आफ्नो हैसियतभन्दा बढी रकम बराबरको आफ्नो र परिवारको नाममा बिभिन्न कम्पनीको शेयर खरिद, जग्गा खरिद, अध्ययन खर्च, घर निर्माण तथा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रकम जम्मा गरेको देखिँदा निजले माथि उल्लेख भएबमोजिम रु.3,15,81,066।80 (तीन करोड पन्ध्र लाख एकासी हजार छैसठ्ठी रूपैंया असी पैसा) बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि हुन आएकोले निज राम बहादुर रानाभाटले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा निजलाई विगो रु.3,15,81,066।80 (तीन करोड पन्ध्र लाख एकासी हजार छैसठ्ठी रूपैंया असी पैसा) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ग, दफा ३ र दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम विगो बमोजिम जरीवाना र कैद सजाय हुन एवं निजले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्तिबाट साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम लागत मुल्यमा बिगो जफत/असुल उपर गरी पाउन मागदावी लिइएको छ।
साथै राम बहादुर रानाभाटले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती राधा रानाभाटसमेतको नाममा जग्गाहरु खरिद, घर निर्माण, शेयर खरिद तथा बैंक खाताहरुमा रकम मौज्दात लगायतमा गरिएका खर्च लागत मूल्य वरावरको भागको सम्पत्ति विगो जफत गर्ने प्रयोजनार्थ मात्र साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम बिगो जफत गर्ने प्रयोजनको लागि राधा रानाभाटलाई प्रतिवादी कायम गर्ने साथै निज प्रतिवादी राधा रानाभाटको नाममा रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्तिबाट बिगो जफत गरी पाउन मागदावी लिई लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।