काठमाडौं। नेपालमा आन्तरिक उडानका क्रममा जहाजले गन्तव्यमा नपुगी फर्किनु, अकासमा ‘होल्ड’ हुनु वा नजिकैको अर्को विमानस्थलमा डाइभर्ट हुनु असामान्य घटना होइन। विशेषगरी जाडो मौसम, मनसुन वा मौसम अस्थिर भएको समयमा यस्ता घटनाहरू बढ्ने गर्छन। तर, प्रत्येक पटक यस्तो हुँदा सामाजिक सञ्जालमा आलोचनाको लहर चल्छ।
एयरलाइन्स अक्षम भए, पाइलटले निर्णय लिन सकेनन, व्यवस्थापन कमजोर भयो जस्ता टिप्पणीहरू देखिन्छन। यथार्थ भने फरक छ। उड्डयन क्षेत्रका विज्ञ र नियामक निकायका अनुसार जहाज फर्किनु वा डाइभर्ट हुनु कमजोरी होइन। बरु सुरक्षा प्रणाली सक्रिय रहेको प्रमाण हो।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार उडानका क्रममा जहाजमा कुनै प्राविधिक समस्या देखिएमा वा मौसम प्रतिकूल भएमा अन्तिम निर्णय पाइलटकै हुन्छ। ‘जहाज फर्काउने, होल्ड गर्ने वा मर्मतपछि मात्र उडान गर्ने निर्णय पाइलटको अधिकारभित्र पर्छ। यात्रु सुरक्षाभन्दा माथि कुनै व्यावसायिक दबाब हुँदैन,’ उनी भन्छन। अन्तर्राष्ट्रिय उड्डयन मापदण्डअनुसार पनि ‘पाइलटको निर्णय अन्तिम’ मानिन्छ। यसको अर्थ, पाइलटले जोखिम देखेपछि उडान निरन्तरता दिन बाध्य हुँदैनन्।
नेपालको भौगोलिक संरचना आफैँमा चुनौतीपूर्ण छ। हिमाल, पहाड र साँघुरा उपत्यकाबीच अवस्थित विमानस्थलमा मौसम छिट्टै परिवर्तन हुन सक्छ। बिहान घाम लागेको ठाउँमा दिउँसो बादल जम्न सक्छ। हावाको दिशा अचानक बदलिन सक्छ वा दृश्यता केही मिनेटमै घट्न सक्छ।
पाइलटले टावरसँग समन्वय गरेर मौसम सुधारको प्रतीक्षा गर्छन।
यस्तो अवस्थामा सुरक्षित अवतरण सम्भव नभए जहाजलाई अकासमै निश्चित उचाइमा ‘होल्ड’ गरिन्छ। पाइलटले टावरसँग समन्वय गरेर मौसम सुधारको प्रतीक्षा गर्छन। यदि, सुधारको सम्भावना कम देखिए जहाजलाई वैकल्पिक विमानस्थलतर्फ मोडिन्छ।
नेपालमा हाल सञ्चालनमा रहेका ३३ विमानस्थलमध्ये १० वटामा मात्र इन्स्ट्रुमेन्ट फ्लाइट रेगुलेसन (आइएफआर) प्रणाली जडान गरिएको छ। आइएफआर जडित विमानस्थलमा उपकरणको सहायताले कम दृश्यतामा पनि अवतरण गर्न सकिन्छ। तर, अधिकांश विमानस्थल भिजुअल फ्लाइट रुल्स (भीएफआर) मा आधारित छन, जहाँ पाइलटले दृश्यताकै आधारमा अवतरण गर्नुपर्छ।
भीएफआर उडानका लागि कम्तीमा ५ किलोमिटर ग्राउन्ड भिजिबिलिटी र १५ सय फिटभन्दा माथि क्लाउड बेस आवश्यक हुन्छ। यी मापदण्ड पूरा नभएमा उडान बन्द गरिन्छ। एयर ट्राफिक कन्ट्रोलले दृश्यता र मौसम अवस्थाको मूल्याङ्कन गरेर अनुमति दिन्छ वा रोक लगाउँछ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले गन्तव्य विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाजलाई नजिकैको विकल्पमा डाइभर्ट गरिन्छ। मौसम सुधार भएपछि पुनः गन्तव्यमा पठाइन्छ। यो आकस्मिक अवस्था होइन, नियमित सुरक्षा प्रक्रिया भएको बताए। उनका अनुसार होल्ड वा डाइभर्ट गर्दा इन्धन खर्च बढ्छ। सञ्चालन लागतमा ३०–४० प्रतिशतसम्म वृद्धि हुन सक्छ। तर, त्यो खर्च सुरक्षाका लागि स्वीकार्य हुन्छ।
श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धर पनि यही धारणा दोहोर्याउँछन्। ‘कहिलेकाहीँ गन्तव्यमा पुग्नै लाग्दा पनि मौसम बिग्रिन्छ। त्यस्तो अवस्थामा जहाज फर्काउनु पर्छ। यसले कम्पनीलाई आर्थिक घाटा र्पुयाउँछ। तर, यात्रुको जीवनभन्दा ठूलो केही हुँदैन,’ उनले भने। एयरलाइन्स कम्पनीका लागि समय तालिका र लागत महत्वपूर्ण भए पनि सुरक्षा प्राथमिकता हो।