काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको दिन विदेशी पर्यटकलाई होटलबाहिर जान रोक लगाएको छ। फागुन २१ विदेशी पर्यटकलाई होटलबाहिर जान रोक लगाउने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होटलसम्म र होटलबाट विमानस्थलसम्म जानका लागि पासको व्यवस्था गरिए पनि साइड सिन र घुमघामका लागि पूर्ण रुपमा रोक लगाएको उनले बताए। सुरक्षा संवेदनशिलतालाइ मध्यनजर गर्दै आयोगले २१ गते कुनै पनि विदेशी पर्यटकलाई बाहिर घुम्न जान नदिने निर्णय गरेको उनको भनाइ छ।
विमानस्थलसम्म जान आयोगले आफ्नो वेबसाइटमा पासका लागि निवेदन दिन सक्ने व्यवस्था मिलाएको र सम्बिन्धत जिल्ला प्रशासन कार्यालयबाट पनि पासको व्यवस्था हुने बताउँदै घुमघाम गर्न भने जान नदिने भएको हो।
निर्वाचनका दिन आउने पर्यटकलाई पासको आधारमा घुम्न जान दिनका लागि धेरै चरणमा छलफल भए पनि नेपालको विशेष दिन भएकाले सुरक्षाका कारण सुविधा दिन नसकेको प्रति उनले क्षमा मागेका छन्।
होटल एसोसिएन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाहले निर्वाचन आयोगले सार्वजनिक रुपमा २१ गते विदेशी पर्यटकको व्यवस्थापन कसरी गर्ने भन्ने जानकारी नदिएको बताए। अचानक निर्वाचनको घोषणा भएको र विदेशीहरुले एक वर्षअघि घुमघामका लागि बुकिङ गरिसकेको अवस्थामा अन्तिममा आएर रोक लगाउँदा विदेशीसामू नकरात्मक सन्देश जाने भएकाले पासका आधारमा थप व्यवस्थापन गर्न उनले अनुरोध गरे।
निर्वाचनको समय नजिकिँदा त्यो साता मात्रै करिब २५ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल प्रवेश गर्ने अनुमान छ।
फागुन (मार्च) महिना नेपाल पर्यटनका लागि सबैभन्दा महत्वपूर्ण समय मानिन्छ। विशेष गरी हिमाली क्षेत्रमा पदयात्राका लागि उपयुक्त मौसम हुने भएकाले दैनिक दुईदेखि तीन हजारसम्म विदेशी पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरिरहेका हुन्छन्।
निर्वाचनको समय नजिकिँदा त्यो साता मात्रै करिब २५ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल प्रवेश गर्ने अनुमान छ। तर, निर्वाचनको बेला सामान्यतया लागू हुने आवतजावत प्रतिबन्ध, सवारी साधन सञ्चालनका लागि पास अनिवार्य हुने व्यवस्था तथा आन्तरिक उडान बन्द हुने अभ्यासले फागुन २१ अगाडि आउने पर्यटकलाई कसरी गन्तव्यसम्म पुर्याउने अन्योलताले समस्या भएको हानका अध्यक्ष शाहले बताए।
‘विदेशी पर्यटकहरू क्षणिक निर्णय गरेर नेपाल आउने होइनन्। उनीहरूले महिनौँ, कहिलेकाहीँ एक वर्ष अघिदेखि होटल, ट्रेकिङ, उडान र अन्य सेवा बुक गरिसकेका हुन्छन्,’ अध्यक्ष शाहले भने, ‘यस्तो अवस्थामा अन्तिम समयमा अस्पष्टता रहनु व्यवसायी मात्र होइन, देशकै छविका लागि हानिकारक हुन्छ।’
निर्वाचनको दिन अन्तर्राष्ट्रिय उडान बन्द नहुने भए पनि आन्तरिक उडान ठप्प हुने सामान्य अभ्यास रहेको छ। काठमाडौं बाहिरका प्रमुख पर्यटकीय गन्तव्यहरू आन्तरिक उडानमै निर्भर छन। लुक्ला, पोखरा, जोमसोम, भैरहवालगायतका स्थानमा जाने विदेशी पर्यटकलाई आन्तरिक उडान बन्द हुँदा कसरी र्पुयाउने भन्ने स्पष्ट योजना छैन।
सडकमार्ग प्रयोग गर्नुपर्ने अवस्थामा सवारी साधन सञ्चालनका लागि पास आवश्यक पर्ने भएकाले समस्या झन जटिल बन्ने उनको भनाइ छ। निर्वाचनको समय होटल तथा रेष्टुरेन्टले सामान्यतया एक तिहाई कर्मचारी मात्र राखेर सञ्चालन गर्ने गर्छन। तर, कर्मचारी स्वयमको आवतजावत कसरी सहज बनाउने भन्ने विषयमा समेत अन्योल कायम छ।
यदि, कर्मचारी नै होटल वा रेष्टुरेन्टसम्म पुग्न नसके सेवा प्रवाह प्रभावित हुने र त्यसको असर प्रत्यक्ष रूपमा पर्यटकको अनुभवमा पर्ने व्यवसायीहरूको चिन्ता छ। पर्यटन उद्योग सेवा र अनुभूतिको व्यापार भएकाले सानो अव्यवस्थाले पनि ठूलो नकारात्मक प्रभाव पार्ने उनीहरू बताउँछन।
यसअघि निर्वाचनका बेला निर्वाचन आयोगले पास दिएर नेपाल पर्यटन बोर्डसँग समन्वय गरी पर्यटकहरूको यात्रा व्यवस्थापन गर्ने अभ्यास रहेको थियो।