काठमाडौं । दसैंअघि सेयर बजारले सबै लगानीकर्तालाई खुसी बनायो । दसैंअघि सेयर बजार निरन्तर बढ्दा लगानीकर्ताले कमाउन सफल भएका छन् । लगानीकर्ता उत्साहित हुँदा बिहीबार बजार १ हजार ६०६ अंकमा पुगेको छ । दसैं सुरु भएयता बजारमा हरियाली छाएको थियो । बजार बढेपछि बजार पुँजीकरण २१ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ ।
बढ्दो क्रममा रहेको बजारले दसैंपछि पनि गति लिने अपेक्षा लगानीकर्ताको छ । दसैंअघि बढेको बजार पछि पनि लय लिन्छ कि लिंदैन भन्ने चासो लगानीकर्ताको छ । सेयर बजार अहिले ‘बुलिश ट्रेण्डमा’ छ ।
यो पनि हेर्नुहोस
विष्णु पौडेलको कार्यकालमा सेयर बजारले पुनः १८८१ अंकलाई भेट्ला ?
बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.५४ अंक बढेको छ । बिहीबार परिसूचकसंगै कारोबार रकममा पनि बढोत्तरी आएको छ । बिहीबार मात्र १८७ कम्पनीको ३० हजार ३२८ पटकको कारोबार भएको थियो । सो दिन १ अर्ब ९९ करोड ४५ लाख रुपैयाँ बराबरको ६४ लाख ५७ हजार कित्ता सेयर किनबेच भएको छ ।
सेयर बजार बुलिश ट्रेण्डमा रहेको अवस्था छ । यसले गर्दा लगानीकर्ताको विश्वास पनि बढाएको छ । यसले आगामी दिनमा सेयर बजार निरन्तर बढ्ने संभावना पनि देखिन्छ । यस्तै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर प्रक्रिया थाल्न दवाव दिइरहेको छ ।
केही बैंकबीच मर्जरमा जानका लागि छलफल पनि भइरहेको छ । मर्जरले पनि बजारलाई गति दिने अनुमान गर्न सकिन्छ । यद्यपी यो अनुमान मात्र हो । बजार यस विपरित पनि जान सक्छ । सेयर बजार बढेसंगै कारोबार रकममा पनि वृद्धि भएको छ ।
यो पनि हेर्नुहोस
सर्वसाधारणलाई यसरी रनभुल्लमा पारेर ठूला लगानीकताले सेयरबाट लिन्छन् फाइदा
पहिला १ अर्ब रुपैयाँ भन्दा कमको सेयर किनबेच हुने गरेकोमा अहिले न्युनतम् १ अर्ब माथि नै कारोबार भइरहेको छ । नेप्सेमा सूचिकरण भएका बैंक तथा वित्तीय संस्था, जलविद्युत् उत्पादनमूलक, बिमालगायत कम्पनीहरुले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई धमाधम लाभांश घोषणा गरिरहेका छन् ।
यसैबीचमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाशको वित्तीय विवरणहरु पनि सार्वजनिक हुन थालेका छन् । यही कारणले गर्दा दसैंपछि पनि बजार पुरानो लय समात्ने अनुमान गर्न सकिन्छ । यो समय लाभांश घोषणा गर्ने भएकाले लगानीकर्तालाई चलायमान बनाउन सहयोग पुर्याउने छ ।
२०७३ साउन १२ गते नेप्से परिसूचक बढेर १ हजार ८८१ अंकमा पुगेको थियो । त्यसपछि यो अंकलाई ‘ब्रेक’ हुनेगरी सेयर बजार बढ्न सकेको छैन । आजको दिनमा अझै पनि यो अंकमा पुग्न २७९ अंक बाँकी छ । गत साता र यो साताको पहिलो दिन बजार केही घटेको देखिए पनि सोमबार, मंगलबार र बुधबार बढेको छ ।
लगानीकर्ताहरु दसैं खर्च जोहो गर्नका लागि सेयर बिक्री गर्दा बजारमा केही ‘करेक्सन’ भएको अनुमान गरिएको थियो । केही अंक करेक्सन भए पनि सोमबारदेखि बजार पुनः बुलिश ट्रेन्डमै गएको छ ।
यस्तै बजार बढ्दा जलविद्युत् कम्पनीहरुको सेयर मूल्य बढेको छ । अधिकाँश कम्पनीको सेयर मूल्य १०० रुपैयाँ भन्दा कम भएकोमा भदौंयता बढेर अधिकाँश कम्पनीको सेयर मूल्य माथि पुगेको छ ।
सेयर बजारमा बैंकहरुको भन्दा पनि जलविद्युत् कम्पनी र नयाँ प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्य बढेको छ ।
अर्थमन्त्री विष्णु पौडेल हुँदा सेयर बजारले नयाँ रेकर्ड कायम राखेको थियो । अहिले उनी पुनः अर्थमन्त्री भएकाले लगानीकताहरुको विश्वास बढेको अनुमान गर्न सकिन्छ ।