शेयरबजारमा जो सर्व सम्पन्न हुन्छन्, उनीहरूकै हालीमुहाली चलिरहेको हुन्छ । अर्थात् उनीहरूले शेयरबजारलाई आफ्नो अनुकूल ढाल्न सक्छन् । यसको उदाहरण हाम्रो शेयरबजारमा पनि बेलाबेलामा देख्न सकिन्छ । यसको पहिलो उदाहरण हाम्रो शेयरबजार जहिले पनि प्रतिकूल परिस्थितिमा बढिरहेको हुन्छ, जस्तो २०७२ सालमा भारतले नाकाबन्दी गरेको समयमा । त्यसैगरी अहिले कोरोना विपत्तिका कारण आर्थिक वृद्धि सुस्त भएको र विश्व शेयरबजार पनि अस्थिर रहेको बेला हाम्रो शेयरबजार सुस्त गतिमै भए पनि बढ्दै छ ।
२०७२ सालमा हकप्रदका लागि पनि मानिसले शेयर खरीद गरेको देखिन्छ । तर, त्यस बेला जसले हकप्रदका लागि शेयर भरे उनीहरू त्यसबेला जिल्ल परे जब त्यस बेला केही बैंकहरूले एकआपसमा ऋण लिएर लगानी गरे । त्यस बेला शेयर खरीदकर्ताहरूले एउटा कुरामा चाहिँ ध्यान नदिएकै हो । चुक्तापूँजी वृद्धिको लगत्तै बैंकहरूले पहिलो दोस्रो वर्षमा नाफा दिन सक्दैनन् ।
बैंकहरू स्वपूँजीको भरमा चुक्ता पूँजी पुर्याउन सफल भएको भए त खासै फरक पर्दैन थियो । तर, धेरैजस्तो बैंकहरू एकआपसमा मिलेर हकप्रद भर्ने गरेकाले सामान्य शेयर लगानीकर्ताहरू छक्किए । अझ भन्ने हो भने राष्ट्र बैंकसमेत जिल्ल पर्यो किनकि उसले बैंकहरू मर्जरमा जान्छन् भन्ने सोचेको थियो । बैंकहरूको चुक्ता पूँजी बढ्दैमा उद्योगव्यवसाय बढ्ने र विदेशबाट ठूलाठूला कम्पनी आइहाल्ने पनि होइन ।
हुन त २०७२ सालपछि देशमा निजी लगानीमा केही सिमेन्ट उद्योग नखुलेको होइन । तर, ती सिमेन्ट कम्पनीहरू कोही कच्चा पदार्थ भारतबाट आयात गर्ने गरी खुलेका र खुलेका धेरै जस्तो कम्पनीले जनतालाई शेयर विक्री गरेका पनि छैनन् । हाम्रा सिमेन्ट कम्पनीहरू अन्तरराष्ट्रिय गुणस्तरका पनि नभएकाले तिनको उत्पादन विदेश निर्यातको सम्भावना पनि कम छ ।
हामीले अन्डर ग्राउन सडकहरू बनाउनुपर्यो भने विदेशबाट सिमेन्ट खरीद गरी राख्नुपरेको छ । चिनियाँहरूको पनि लगानी भएको र जनतालाई पनि शेयर विक्री गरेको शिवम् सिमेन्टको शेयरको बजार भाउ ७०० रुपैयाँभन्दा माथि पुगेको छ । यसले शेयर कारोबारीलाई उत्साहित बनाएको छ । हालै यसले विभिन्न बैंकबाट लिएको ५ अर्ब ऋण चुक्ता गर्नुको साथै ६० करोड होङ्सी सिमेन्टमा पनि लगानी गरेको छ । कम्पनीले नाफा कमाउनु राम्रो भए पनि गुणस्तर पनि विश्वस्तरीय बनाउँदै लैजानुपर्छ । जसले देशलाई आत्मनिर्भर बनाउनुका साथै निर्यात गर्न पनि समर्थ होइन्छ ।
सर्वसाधारणले चिलिमेको नाफालाई हेरेर जलविद्युत् कम्पनीका शेयरमा उच्च उत्सुकताका साथ लगानी गरेका छन् । तर, यसका केही प्रवर्द्धकहरुले १६ देखि १८ करोड प्रतियुनिट उत्पादन हुनेलाई २० देखि २२ करोडसम्म मूल्य राखेर शेयर निष्कासन गरेका छन् । कतिले विना अनुभव कम्पनी खोलेकाले सर्वसाधारण जनताको अपेक्षा पूरा हुन सकेन । जलविद्युत् कम्पनीका कारण बैंकहरू पनि समस्यामा पर्ने सम्भावना बढ्दै गएको छ । त्यसमा पनि साना जलविद्युत् कम्पनीमा गरिएको लगानी बैंकहरूलाई निल्नु न ओकल्नु भएको छ ।
केही साना कम्पनीले आयोजना पूरा गर्न नसक्दा बैंकहरूलाई त्यो आयोजनाको सामान कवाडीमा बेच्नुपर्ने अवस्था छ । यसो हुँदा बैंकको साँवा त परै जाओस् ब्याज पनि उठ्दैन । तसर्थ शेयर कारोबारीले शेयरमा लगानी गर्दा कुनै पनि कम्नीको प्रवर्द्धक कस्ता छन्, ऊसँग त्यस्तो कम्पनी खोलेको अनुभव छ कि छैन र बजारमा उसको उत्पादनको माग कति छ, त्यसमा ध्यान दिनु आवश्यक हुन्छ । प्राथमिक शेयरमा लगानी गर्ने साधारण जनताले ५ वर्षसम्म कुर्ने क्षमता राख्नुपर्छ ।
यसैगरी दोस्रो बजारमा लगानी गर्नेले लगानी गर्दा कम्पनीको ५ वर्षको गतिविधि अध्ययन गर्न जरुरी छ । प्रत्येक वर्ष लाभांश वृद्धि हुँदै गएको छ भने त्यस्तो कम्पनीमा ढुक्क भएर लगानी गर्न सकिन्छ र प्रतिफल पनि प्राप्त गर्न सकिन्छ । तर, कुर्न सक्ने क्षमताचाहिँ हुनुपर्छ । कुनै बेला भवितव्य पर्न गयो २–४ वर्ष कुर्न सक्ने क्षमता राख्नुपर्छ । लगानी गर्न बुझ्नुपर्ने अरू पनि धेरै कुरा छन् ।
तर, यहाँ चर्चा गर्न खोजिएको मूख्य विषयचाहिँ के हो भने अहिले कोरोनाका कारण ६४ हजारले घरमै बसेर कारोबार गर्न थालेका छन् । अब हाम्रो शेयरबजारमा चलखेल घट्ने सम्भावना बढेको छ । पहिला शेयर ब्रोकरकहाँ गएर कारोबार गर्नेलाई जति सहज हुन्थ्यो, घरघरमा बसेर काम गर्नेलाई सहज हुँदैन । घरमा देखिएको शेयर मूल्य हेरेर फोनमा अर्डर गर्दा उता शेयरको भाउ फरक परिसकेको हुन्थ्यो ।
तर, अब घरमै बसेर गर्दा सहज हुन पुगेको छ । प्रिओपेनिङ विश्वमै चलेको प्रचलन हो र त्यसैअनुरूप यहाँ पनि १०:३० देखि १०:४५ सम्म प्रि ओपेनिङ कारोबार हुन्छ । अघिल्लो दिनको मूल्यमा ५ प्रतिशतसम्म मूल्य बढाएर राख्न सकिन्छ र ११ बजेको कारोबार त्यहीँबाट शुरू हुन्छ । त्यो १५ मिनेटमा विशेष (गोप्य) सूचना पाउन सक्ने क्षमता भएका व्यक्तिहरूले बढ्ने सम्भावना भएका शेयरको भाउ १०–२० कित्ता कारोबार ८–१० पटक गरेर घटाउने गर्न सक्छन् ।
घट्ने सम्भावना भएका शेयरको त्यसै गरी १०–२० कित्ता शेयर ८–१० ओटा कारोबार गरेर बढाउन सक्छन् । यसबाट सर्वसाधारणलाई रनभुल्लमा पारेर बजारबाट फाइदा उठाउने गरेका छन् । त्यसैले दोस्रो बजारका शेयर कारोबारीले यो प्रिओपेनिङ हाललाई हटाउन सम्बद्ध ठाउँमा तुरुन्त पहल गर्नुपर्छ र नेप्सेलाई आफ्नो सफ्टवेयर अझै परिपक्क बनाउन दबाब दिनुपर्छ । त्यसो भएमा सर्वसाधारणको कल्याण हुन्छ ।