काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएसँगै रोकिएको नेपाल र भारतबीचको हवाई उडान पुस २ गतेबाट पुनः सुचारु हुने भएको छ ।
नेपाल एयरलाइन्स र एयर इण्डियाले दैनिक एक र एक उडान गर्ने गरि तालिका तयार भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले नयाँ दिल्लीबाट काठमाडौं उडानका लागि एयर इण्डियाले अनुमति मागिसकेको जानकारी दिए ।
भारतले पठाएको एयर बबलको प्रस्तावलाई स्वीकार गर्दै नेपालले पनि भारतसँग हवाई उडानको लागि प्रस्ताव मागेको थियो । नेपालले पठाएको प्रस्ताव स्वीकार गर्दै हवाई उडानको लागि खुला गरेको जानकारी नेपाल स्थीत भारतीय दुतावासले जानकारी दिएको थियो ।
सहमति अनुसार तत्काललाई काठमाडौं–दिल्ली मात्रै उडान हुनेछ । बेंगलुरु, मुम्बई, कोलकाता र बनारस उडान भने खुलाइएको छैन ।
गत चैत ९ गतेदेखि रोकिएको नियमित उडान २ सय ७१ दिनपछि खुला हुँदा भारतमा उपचारका लागि जाने बिरामी, विद्यार्थी, व्यवसायीहरुलाई सहज हुने छ ।
अहिलेको सहमतिअनुसार नेपाली र भारतीय नागरिकहरुले मात्र यात्रा गर्न पाउने छन् भने कुटनीतिक नियोगले पनि जहाज प्रयोग गर्न पाउने छन् । त्यसबाहेक तेश्रो मुलुकका नागरिकहरुले भने तत्कालका लागि यात्रा गर्न पाउने छैनन् ।
भारतले विदेशीका लागि खुला गरिसकेको छैन । नेपालले भने सबै मुलुकसँग हवाई उडान यस अघिनै खुला गरिसककेको छ ।
एयर इण्डियासँगै नेपाल एयरलाइन्सले पनि उडानको लागि आवश्यक तयारी गरिरहेको बताइएको छ । नेपाल एयरलायन्सले शुक्रबार भारत र नेपालका हवाई निकायमा अनुमतिका लागि आवेदन दिँदै छ ।
यो उडानमा यात्रुले ७२ घण्टासम्मको पीसीआर जाँच नेगेटिभ भएको प्रयोगशालाको रिपोर्ट अनिवार्य पेस गर्नुपर्नेलगायतका नियम बनाइएको छ ।