काठमाडौं। चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोला भिरमा बारम्बार पहिरो गइरहेको छ। मुग्लिन–नारायणघाट सडकखण्डको मुग्लिन नजिकै तुइन खोला छेउको भिरबाट असोज ३ गते साँझा ७ः१५ बजे पहिरो गएको थियो। यो पहरो हटाउन नपाउँदै ७ गते करिब साढे ३ बजे पुनः भिषण पहिरो गयो। हाल यो सडकखण्ड अनिश्चित समयका लागि बन्द गरिएको छ।
यसरी बारम्बार पहिरो जानु मनसुन तथा सो क्षेत्रको माटोको बनावट कमजोर रहेको डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेले बताए। ‘पहिरो गएको ठाउँमा भूभाग कमजोर भएको र पत्रे चट्टानहरू भएकाले पहिरो निरन्तर आइरहेको छ,’ उनले भने, ‘रातको समयमा माथिबाट ढुंगा र बालुवा खस्ने क्रम नरोकिएकाले काम गर्न कठिनाइ भइरहेको छ।’ यो पहिरो सुक्खा प्रकृतिको भएकाले अझै जोखिम बढेको छ।
नारायणगढ–मुग्लिन सडकमा पटक/पटक पहिराेका कारणले दसैँको समयमा जाने/आउने यात्रु र सवारी चालकलाई ठूलो समस्या भएको छ। अहिले पनि पहिरो हटाउने काम जारी छ। तर, सडक पूर्ण रुपमा खुल्न भने भोलिसम्म लाग्ने देखिएको छ। ‘ बिहीबार बिहानदेखि नै पहिरो हटाउनका लागि ५–६ वटा मेसिनहरू परिचालन गरिएको छ,’ उनले भने, ‘तर, ठाउँ साँघुरो भएकाले काम गर्न समस्या भइरहेको छ।’
सडक डिभिजन कार्यालयका अनुसार यदि मौसमले साथ दियो भने रातिसम्ममा सडक एकतर्फी खुल्ने सम्भावना छ। तर, पूर्णरूपमा सडक सञ्चालन हुन भने अझै समय लाग्ने देखिन्छ। सो सडकखण्ड हुँदै दसैँका लागि घर जाने/आउने हजारौँ यात्रु र सवारीसाधन बाटोमै अलपत्र परेका थिए। सडक अवरुद्ध भएपछि गाडीको लामो लाइन लागेको थिए।
नारायणगढ–मुग्लिन सडकमा पटक/पटक पहिराेका कारणले दसैँको समयमा जाने/आउने यात्रु र सवारी चालकलाई ठूलो समस्या भएको छ। अहिले पनि पहिरो हटाउने काम जारी छ।
जिल्ला प्रशासन कार्यालय चितवनले यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ। साना गाडीहरूले हेटौँडा हुँदै कान्ति लोकपथ प्रयोग गर्न सक्ने जनाइएको छ। यसका धेरै सवारीसाधनले वैकल्पिक मार्गको प्रयोग गर्न थालेको जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारी रविन्द्र खनालले बताए। अलपत्र परेका यात्रुलाई राति नै जिल्ला प्रहरी कार्यालय चितवनले नेपाल प्रहरीको निःशुल्क दुईवटा बस सञ्चालन गरी नारायणगढसम्म पुर्याइएको उनले जानकारी दिए।
‘मुग्लिनबाट पोखरातर्फ जाने बाटोमा भने सवारीको चाप बढेको छ,’ उनले भने, ‘पहिरो गएको सडकखण्डमा ट्राफिक जाम भने खासै छैन, वैकल्पिक बाटोको प्रयोग गरी सवारीसाधान चली रहेका छन्।’
यस क्षेत्रमा पहिरोको जोखिम रहेको भन्दै चितवन प्रहरीले वैकल्पिक सडक प्रयोग गर्न यसअघि सूचना जारी गरी सकेको छ। पहिरोका कारण मुग्लिन खण्डमा सवारीसाधनको अत्याधिक चाप बढ्न थालेसँगै त्यसको प्रभाव पोखरा–काठमाडौं आवतजावत चल्ने सवारीसाधनमा परेको उनले बताए। ‘मुग्लिन हुँदै पोखरा जाने बाटोमा भने सवारीसाधनको चाप केही बढेको छ,’ उनले भने।
बारम्बारको पहिरोले यातायात व्यवसायीहरूलाई ठूलो आर्थिक क्षति पुगेको छ। गाडीहरू बाटोमा अड्किँदा डिजेल खर्च बढेको छ भने समयमै गन्तव्यमा पुग्न नसक्दा यात्रुले पनि सास्ती पाएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताएका छन्। सडक विभाग, ट्राफिक प्रहरी र नेपाल प्रहरीको समन्वयमा पहिरो पन्छाएर यातायात सुचारु गराउने प्रयास भइरहेकाे भए पनि पहिरो खस्न नरोकिँदा समस्या भएकाे हो। तुइन खोलामा ठूलो भिर नै सडकमा खसेकाले पन्छाउन समय लाग्ने देखिएको छ।