काठमाडौं। नेपाललाई अमेरिका, क्यानाडापछि भारतले जोखिममूलक मुलुकको सूचीमा राखेको छ। सबैभन्दा बढी पर्यटक आउने छिमेकी मुलुक भारतले नेपाललाई जोखिममूलक मुलुकमा राखेपछि केही समयका लागि पर्यटक आगमनको संख्या घट्ने देखिएको हो।
भ्रष्टचार अन्त्यसहित विभिन्न माग राख्दै भदौको तेस्रो साता भएको जेनजी आन्दोलनका क्रममा हिंसा भड्किएर ७२ जनाको ज्यान गएको, सरकारी एवं निजी क्षेत्रमा खर्बौं लगानी बराबरको क्षति भएसँगै भारतले आफ्नो नागरिकहरुलाई सकभर नेपाल भ्रमणमा नजान सूचित गराएको हो।
भारतीय दूतावासले सार्वजनिक सूचना जारी गर्दै नेपालमा अहिलेको अवस्थामा जोखिममूलक रहेको जानकारी आफ्ना नागरिकलाई गराएको हो। पर्यटकीय सिजन सुरु भएकाले जेनजी आन्दोलनपछि भएको मानवीय र भौतिक क्षतिको असर विस्तारै पर्यटन क्षेत्रमा देखिन थालेको हो।
नेपाल पर्यटन बोर्ड पोखराका निर्देशक मणिराज लामिछानेले भारतीय दूतावासले सार्वजनिक सूचना जारी गरी जोखिममूलक मुलुकको सूचीमा राख्दा धेरै पर्यटकहरु आगमनमा असर पर्ने बताउँछन्। अहिले अवस्थामा सामान्य भइसकेको अवस्थामा भारतसहित विभिन्न मुलुकले ट्राभल एडभाइजरी जारी गर्नु पर्यटन क्षेत्रका लागि सबैभन्दा दुःखदायी स्थिति रहेको उनको भनाइ छ।
भारतभन्दा अघि अमेरिका, क्यानाडालगायतका मुलुकले नेपालमा आफ्ना नागरिकलाई अत्यावश्यक कामबाहेक नजान सूचित गराइसकेको छ। पछिल्लो समय अमेरिकाबाट पनि धेरै पर्यटकहरु नेपाल घुम्न आउने गरेका थिए।
नेपाल पूर्ण रुपमा सुरक्षित रहेको भन्ने सन्देश दिएर आफ्ना नागरिकलाई घुम्न जाने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताए।
नेपाल पर्यटन बोर्डको पछिल्लो सात महिना (जनवरीदेखि अगष्ट)सम्मको तथ्यांकमा सात लाख ३६ हजार विदेशी पर्यटकहरु हवाईमार्गमार्फत आएका थिए। तीमध्ये सबैभन्दा बढी भारतबाट दुई लाख १० हजार ४९६ जना भारतीयहरु नेपाल आएका थिए।
अगष्ट महिनामा मात्र भारतबाट ३५ हजार ५०५, चीनबाट सात हजार ५३३, अमेरिकाबाट ५ हजार ९५६ जना र क्यानाडाबाट ८७९ जना पर्यटक आएका थिए।
काठमाडौं म्यारियटका सञ्चालक शशीकान्त अग्रवालले भारतसहितका सबै मुलुकमा नेपाल सरकारले तत्कालै कुटनीतिक पहल गरी नेपाल पूर्ण रुपमा सुरक्षित रहेको भन्ने सन्देश दिएर आफ्ना नागरिकलाई घुम्न जाने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताए।
अहिले पर्यटक आगमनको संख्यालाई हेर्दा होटलको अवस्थामा २०२० मा फैलिएको कोभिड महामारीकै अवस्थामा पुगिसकेकाले सरकारले तत्कालै कुटनीतिक पहल गरी नेपाल सुरक्षित रहेको र शान्त भइसकेको सन्देश प्रवाह गर्न ढिला गर्न नहुने उनको भनाइ छ।
विभिन्न मुलुकले ट्राफिक एडभाइजरी मात्र जारी गरेको छैन। हङकङबाट नेपालमा दैनिक उडान गर्दै आएको क्याथे प्यासिफिकले तत्कालका लागि उडान रोकेको छ।
होटल एसोसिएन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाहले विभिन्न मुलुकका ट्राभल एजेन्सीसँगको सहकार्यमा नेपाल सुरक्षित रहेको सन्देश दिँदै आएको बताए। ‘हामी नेपाल सुरक्षित छ, घुम्न आउँदा हामी सुरक्षित साथ राख्छौँ भन्ने सन्देश दिइरहेका छौँ,’ अध्यक्ष शाहले भने, ‘नेपाल पर्यटन बोर्डले पनि त्यहीअनुसारको भूमिका निर्वाह गरिरहेको छ, आशा गरौँ छिट्टै सहज हुनेछ।’
क्याथे प्यासिफिक उडान रोक्दा समस्या
विभिन्न मुलुकले ट्राफिक एडभाइजरी मात्र जारी गरेको छैन। हङकङबाट नेपालमा दैनिक उडान गर्दै आएको क्याथे प्यासिफिकले तत्कालका लागि उडान रोकेको छ। जसका कारण हङकङबाट आउने र हङकङलाई ट्राञ्जिट बनाएर आउने अन्य मुलुकका पर्यटकसमेत प्रभावित भएका छन्।
क्याथेले नेपालमा भएको पछिल्लो राजनीतिक घटनाक्रमलाई ध्यान दिँदै तत्कालका लागि असुरक्षित रहेकाले उडान रोकिएको जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिएको छ। उसले सेप्टेम्बर १ देखि ३० सम्मलाई उडान रोकेको हो।