काठमाडौं । विभिन्न ५ ओटा वाणिज्य बैङ्कले गत वर्ष कमाएको नाफाबाट विदेशमा लाभांश पठाएका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैङ्क, नेपाल बङ्गलादेश बैङ्क, नेपाल एसबीआई बैङ्क, एनएमबी बैङ्क र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडबाट २ अर्ब १६ करोड ७४ लाख ६४ हजार रुपैयाँबराबर रकम लाभांशका रुपमा बाहिरिएको छ । बैङ्कहरुमा विदेशी बैङ्कको लगानी भएकाले उनीहरुले गरेको नाफाबाट लाभांश विदेश पठाएका हुन् ।
अघिल्लो वर्ष दुई पटक गरी नबिल बैङ्कबाट ८७ करोड ४३ लाख रुपैयाँ लाभांश एनबी इन्टरनेसनल लिमिटेड आयरल्यान्डका नाममा बाहिरिएको थियो । गत आर्थिक वर्षमा नबिलबाट लाभांश विदेशिएको छैन ।
गत वर्ष सबैभन्दा बढी लाभांश विदेश पठाउने बैङ्कमा स्ट्याण्डर्ड चार्टर्ड भएको छ । स्ट्याण्डर्ड चार्टर्डले बेलायतमा रहेको स्ट्याण्डर्ड चार्टर्ड ग्रिन्डलेज र स्ट्याण्डर्ड चार्टर्ड बैङ्कमा पठाएको छ । स्ट्याण्डर्ड चार्टर्डमा बेलायती बैङ्कको बहुमत स्वामित्व छ ।
यस्तै नेपाल बङ्गलादेशले दुई पटक गरी ४१ करोड ९४ लाख रुपैयाँ बङ्गलादेशको इन्टरनेसनल फाइनान्स एन्ड कमर्श बैङ्कलाई लाभांश पठाएको छ । बङ्गलादेश बैङ्कमा इन्टरनेसनल फाइनान्सको लगानी छ ।
यो पनि हेर्नुहोस : घट्यो लाभांशबापत बाहिरिने रकम
एनएमबीले एफएमओ नेदरल्यान्ड र योङ्लायन रियालिटी एसडीएनलाई ३५ करोड ९५ लाख ९९ हजार पठाएको छ । यस्तै नेपाल एसबीआईले स्टेट बैङ्क अफ इन्डियालाई ४४ करोड २५ लाख र निर्धन उत्थानले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) लाई १ करोड ७ लाख रुपैयाँ लाभांश भुक्तानी गरेको छ ।
यस्तै भारतको पञ्जाब नेसनल बैङ्कको बहुमत लगानीको एभरेष्ट बैङ्क र हिमालयन बैङ्कबाट लाभांशबापतको रकम बाहिरिएको छैन । हिमालयनमा पाकिस्तानको हबिब बैङ्कको २० प्रतिशत स्वामित्व छ । हबिबको स्वामित्व बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन (सीडीसी)ले खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।