काठमाडौं। नेपाली थकाली खानालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने महत्त्वपूर्ण कदमस्वरूप जिम्बु थकालीले पहिलो पटक नेपालबाहिर आफ्नो फ्रेन्चाइज विस्तार गरेको छ। भारतको हरियाणास्थित गुरुग्रामको चर्चित एम–३–एम मलमा स्थापना गरिएको जिम्बु थकालीको पहिलो अन्तर्राष्ट्रिय शाखा आगामी दुई साताभित्र औपचारिक रूपमा सञ्चालनमा आउने तयारीमा रहेको कम्पनीका सञ्चालक विवेकमान शेरचनले जानकारी दिए।
लामो समयको तयारी, अध्ययनपछि नेपाली रैथाने स्वादलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने सपना साकार हुन लागेको भन्दै शेरचनले यो नेपाली खानाका लागि ऐतिहासिक उपलब्धि भएको बताए। उनका अनुसार नेपालीहरूको बाक्लो बसोबास रहेको गुरुग्राममा भारतीय ग्राहकबाट समेत थकाली खानाप्रति बढ्दो आकर्षण देखिएकाले भारतबाट अन्तर्राष्ट्रिय विस्तारको सुरुआत गरिएको हो।
‘नेपाल बाहिर पहिलो फ्रेन्चाइज सञ्चालन गर्न पाउँदा हामी निकै उत्साहित छौं। नेपाली परिकारलाई विश्व बजारमा चिनाउने हाम्रो अभियानको यो पहिलो महत्त्वपूर्ण पाइला हो’, उनले भने।
भारतस्थित नेपाली तथा अन्य मुलुकमा बसोबास गर्ने नेपालीहरूको संयुक्त लगानीमा सञ्चालनमा आउन लागेको उक्त शाखामा एकैपटक ९० जनाभन्दा बढीले भोजन गर्न सक्ने क्षमता रहनेछ। आधुनिक डिजाइनसँगै नेपाली मौलिक स्वाद र आतिथ्यतालाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।

हाल काठमाडौंमा जिम्बु थकालीका चार वटा शाखा सञ्चालनमा छन्। नेपालमा उपलब्ध सम्पूर्ण लोकप्रिय मेनु भारतस्थित शाखामा पनि जस्ताको तस्तै उपलब्ध गराइने शेरचनले बताए। थकाली सेटसँगै ढिँडो, फापरका परिकार, गुन्द्रुक, सिस्नो, टिमुर र जिम्बुको स्वाद भारतीय ग्राहकले पनि अनुभव गर्न सक्ने गरी तयारी भइरहेको उनले जानकारी दिए।
उनका अनुसार नेपालमा भारतीय परिकार पस्कने रेस्टुरेन्टहरू सफलतापूर्वक सञ्चालन भइरहेका बेला भारतमा पनि नेपाली मौलिक खानाको राम्रो सम्भावना देखिएको छ। विशेषगरी नेपाल भ्रमणमा आउने भारतीय पर्यटकले थकाली परिकार रुचाउँदै आएकाले भारतीय बजारमा यसको माग बढ्ने विश्वास कम्पनीको छ।
भारतमा सेवा विस्तारसँगै थकाली परिकारमा प्रयोग हुने टिमुर, जिम्बु, फापरलगायतका अधिकांश मौलिक सामग्री नेपालबाटै निर्यात गरिने कम्पनीले जनाएको छ।
अब अमेरिकामा दोस्रो अन्तर्राष्ट्रिय फ्रेन्चाइज

भारतपछि जिम्बु थकालीले दोस्रो अन्तर्राष्ट्रिय फ्रेन्चाइज अमेरिकामा सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको छ। सञ्चालक शेरचनका अनुसार अमेरिकामा बसोबास गर्ने गैरआवासीय नेपाली (एनआरएन)हरूको लगानीमा सञ्चालन हुने फ्रेन्चाइजका लागि कम्पनी दर्तासहित आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया अधिकांश पूरा भइसकेको छ।
‘लामो समयदेखि अमेरिका, अष्ट्रेलिया, बेलायतलगायत नेपालीहरूको उल्लेख्य उपस्थिति रहेका देशहरूबाट फ्रेन्चाइजका लागि माग आइरहेको थियो। अब भारतपछि अमेरिकामा हाम्रो दोस्रो अन्तर्राष्ट्रिय शाखा खुल्ने निश्चित भएको छ’, उनले भने।
कम्पनीले आगामी दिनमा नेपाली समुदायको उल्लेख्य बसोबास रहेका अन्य मुलुकमा पनि चरणबद्ध रूपमा फ्रेन्चाइज विस्तार गर्ने रणनीति बनाएको जनाएको छ। साथै, स्वदेशमा पनि विस्तारलाई निरन्तरता दिँदै काठमाडौंमा पाँचौं शाखा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको शेरचनले जानकारी दिए।
कस्तो हो भारतको एम ३ एम मल?

जिम्बु थकालीको पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज सञ्चालन हुन लागेको एम–३–एम मल भारतको हरियाणास्थित गुरुग्राममा रहेको आधुनिक व्यावसायिक तथा लाइफस्टाइल गन्तव्य हो। रियल इस्टेट कम्पनी एम–३–एम इन्डियाले विकास गरेको यो मल उच्चस्तरीय खुद्रा व्यापार, मनोरञ्जन र खानपानका ब्रान्डहरूको प्रमुख केन्द्रका रूपमा परिचित छ।
करिब ३ हजार एकडभन्दा बढी क्षेत्रफलमा विकास भइरहेको एम–३–एम अर्बन टाउनसिप अन्तर्गत रहेको यो कमर्शियल हबमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका सयौं शोरुम, रेस्टुरेन्ट, क्याफे र मनोरञ्जनका सुविधा सञ्चालनमा छन्। विशेषगरी गुरुग्रामको गल्फ कोर्स एक्सटेन्सन रोड क्षेत्रमा अवस्थित भएकाले दैनिक ठूलो संख्यामा स्थानीय उपभोक्ता, कार्यालय कर्मचारी तथा विदेशी आगन्तुकको आवागमन हुने गर्दछ।
मलमा दैनिक २० औँ हजार ग्राहक आउने गरेको बताइन्छ। त्यहाँ फेशन, इलेक्ट्रोनिक्स, लाइफस्टाइल, फुड एन्ड बेभरेजलगायत विभिन्न क्षेत्रका प्रतिष्ठित भारतीय तथा अन्तर्राष्ट्रिय ब्रान्डले आफ्नो उपस्थिति जनाएका छन्। आधुनिक पूर्वाधार, पर्याप्त पार्किङ, खुला वातावरण र पारिवारिक घुमघामका लागि उपयुक्त डिजाइनका कारण एम–३–एम मल गुरुग्रामका लोकप्रिय व्यावसायिक गन्तव्यमध्ये एक मानिन्छ।