काठमाडौं। नेपालको बियर उद्योगमा प्रतिस्पर्धासम्बन्धी ठूलो कानुनी विवाद सुरु भएको छ। देशका चार प्रमुख बियर उत्पादक कम्पनी- यति ब्रुअरी लिमिटेड, याक ब्रअरी कम्पनी प्रा.लि., सीजी ब्रुअरी नेपाल लिमिटेड र हिमालयन ब्रुअरी प्रा.लि.ले गोर्खा ब्रुअरी प्रा.लि. र राज ब्रुअरी प्रालिविरुद्ध प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण बोर्डमा उजुरी दर्ता गरेका छन्।
गोर्खा ब्रुअरीले राज ब्रुअरीको शतप्रतिशत सेयर खरिद गरी नेपालको बियर बजारमा आफ्नो प्रभाव विस्तार गर्दै प्रतिस्पर्धा नियन्त्रण गर्न खोजेको आरोप उनीहरूले लगाएका छन्। उजुरीमा गोर्खा ब्ब्रुअरीले प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ को दफा ४ दफा ५ र दफा ७ विपरीत कार्य गरेको दाबी गरिएको छ।
उजुरीकर्ताका अनुसार गोर्खा ब्रुअरीको बजार हिस्सा पहिले ५५ प्रतिशतभन्दा बढी रहेको अवस्थामा अर्को बियर उत्पादक कम्पनी राज ब्रुअरीको सम्पूर्ण सेयर खरिद गर्नु ऐनले निषेध गरेको प्रतिस्पर्धा नियन्त्रण गर्ने उद्देश्यको कार्य हो। गोर्खा ब्रुअरीले आफ्नै वेबसाइटमा नेपालको बियर बजारमा आफ्नो हिस्सा ६१ प्रतिशत रहेको उल्लेख गरेको तथ्यलाई समेत उजुरीको आधार बनाइएको छ।
उजुरी पत्रमा ऐनको दफा ५ अनुसार कुनै प्रतिष्ठानले बजारमा आफ्नो प्रभाव बढाएर प्रतिस्पर्धा कमजोर पार्ने उद्देश्यले समान प्रकृतिको वस्तु उत्पादन गर्ने अर्को प्रतिष्ठानको ५० प्रतिशत वा सोभन्दा बढी सेयर खरिद गर्न नपाउने व्यवस्था रहेको उल्लेख गरिएको छ। यस्तो अवस्थामा गोर्खा ब्रुअरीले राज ब्रुअरीको शतप्रतिशत स्वामित्व प्राप्त गर्नु प्रतिस्पर्धा नियन्त्रण गर्ने उद्देश्यले गरिएको कार्य भएको जिकीर उजुरीकर्ताको छ।
सेयर खरिदसँगै गोर्खा ब्रुअरीले आफ्नो हैसियतको दुरुपयोग गरेको आरोप पनि उजुरीमा लगाइएको छ। उजुरीकर्ताहरूका अनुसार गोर्खा ब्रुअरीले देशभरका सयौँ होटल, रेष्टुरेन्ट, क्लब तथा पबसँग आफ्ना उत्पादनबाहेक अन्य कम्पनीका बियर बिक्री गर्न नपाइने सर्तसहित सम्झौता गर्दै आएको छ।
यो उजुरीमाथि बोर्डले अनुसन्धान अघि बढाए नेपालको प्रतिस्पर्धा कानुन कार्यान्वयनका दृष्टिले यो पछिल्लो समयकै सबैभन्दा महत्त्वपूर्ण मुद्दामध्ये एक बन्न सक्ने देखिएको छ।
यस्तो अभ्यासका कारण अन्य बियर उत्पादक कम्पनीहरू बजारमा प्रतिस्पर्धा गर्नबाट बञ्चित भएका, नयाँ कम्पनीलाई बजार प्रवेश गर्न कठिन भएको तथा उपभोक्ताको रोजाइ सीमित भएको दाबी गरिएको छ।
उजुरीमा नेपालको संविधानले प्रत्याभूत गरेको स्वच्छ प्रतिस्पर्धाको सिद्धान्त तथा उपभोक्ता संरक्षण ऐन, २०७५ ले सुनिश्चित गरेको प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय वस्तु छनोट गर्ने उपभोक्ताको अधिकारसमेत प्रभावित भएको उल्लेख छ। एउटै कम्पनीको अत्यधिक बजार नियन्त्रणले भविष्यमा मूल्य, वितरण प्रणाली र उत्पादनको छनोटमा प्रत्यक्ष असर पर्ने तथा यसबाट उद्योग र उपभोक्ता दुवैलाई दीर्घकालीन नोक्सानी पुग्ने दाबी गरिएको छ।
उजुरीकर्ताले गोर्खा ब्रुअरी र राज ब्रुअरीबीच भएको सेयर खरिद सम्झौता बदर गर्न, त्यसका आधारमा भएका सबै कानुनी तथा प्रशासनिक निर्णय र अभिलेख खारेज गर्न, अन्य कम्पनीका उत्पादन बिक्री गर्न रोक लगाइएका सम्झौताहरू अमान्य घोषणा गर्न तथा प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐनबमोजिम हदैसम्मको कारबाही गर्न बोर्डसँग माग गरेका छन्।
साथै उजुरीको अन्तिम टुंगो नलाग्दासम्म सम्बन्धित कारोबार कार्यान्वयनमा रोक लगाउने अन्तरिम आदेश जारी गर्न पनि उनीहरूले अनुरोध गरेका छन्।
यो उजुरीमाथि बोर्डले अनुसन्धान अघि बढाए नेपालको प्रतिस्पर्धा कानुन कार्यान्वयनका दृष्टिले यो पछिल्लो समयकै सबैभन्दा महत्त्वपूर्ण मुद्दामध्ये एक बन्न सक्ने देखिएको छ। यसले बियर उद्योगमा मात्र होइन, भविष्यमा हुने कम्पनी अधिग्रहण, सेयर खरिद तथा बजारमा प्रभावशाली हैसियत भएका कम्पनीहरूको व्यवसायिक अभ्याससम्बन्धी कानुनी नजिरसमेत स्थापित गर्न सक्ने कानुन व्यवसायीहरूको भनाइ छ।