काठमाडौं । विभिन्न मनमुटावका बाबजुद पनि नेपालमा रहेका ७ वटै उपभोक्ता अधिकार संस्थाहरुले एकजुट भई अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
अन्तर्राष्ट्रिय उपभोक्ता दिवसको पूर्वसन्ध्यामा उपभोक्ता हित संरक्षण मञ्च, राष्ट्रिय उपभोक्ता मञ्च, उपभोक्ता अधिकार अनुसन्धान मञ्च, उपभोक्ता मञ्च नेपाल, नेपाल उपभोक्ता महिला बालबालिका लगायतका संस्थाहरुले उपभोक्ताको हक हितका लागि एकजुट भई अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।
आ–आफ्नै स्वार्थमा अलगअलग बाटो हिँड्दा उपभोक्ता अधिकार स्थापित गर्न नसकिएको र राज्यले समेत उपेक्षा गरेको भन्दै सबै संस्था एक ठाउँमा उभिनुपर्ने धारणा उनीहरुको छ ।
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले उपभोक्ता अधिकारकर्मीलाई यदुवंशीको संज्ञा दिँदै आफैं एक–आपसमा लडेरै सकिने अवस्थामा पुगेको बताए। ‘यदुवंशीजस्तै एकले अर्कार्को खुट्टा तान्दै जाने हो भने हामी कहीँ पनि पुग्दैनौं । अतः अब एक भएर अघि बढ्नैपर्छ’ उनले भने ।
अध्यक्ष बानियाँले उपभोक्ता अदालत स्थापना गरी संघ, प्रदेश र स्थानीय तहसम्म उपभोक्ता अधिकार स्थापित गराउने प्रतिबद्धता जनाए ।
त्यस्तै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले एकले अर्को संस्थाको अस्तित्व स्वीकार गर्न नसक्नु सबभन्दा ठूलो समस्या रहेको बताए । एकले अर्कोमाथि अनावश्यक आरोप लगाउने प्रवृत्ति बढेको बताउँदै आफूमाथि लगाएको आरोप फिर्ता नलिँदासम्म सहकार्य गर्न नसकिने उनको भनाइ छ ।
त्यस्तै उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले एक्लाएक्लै हिँड्दा कतै पनि पुग्न नसकिएको भन्दै एकजुट हुनुको विकल्प नरहेको बताए । ‘हिजोका दिनमा भएका गल्तीहरुलाई स्वीकार गर्नुपर्छ’, उनले भने, ‘हामी सबैको उद्देश्य नागरिकलाई विधिको शासनको प्रत्याभूति गराउनु हो ।सबै एक भएर अघि बढ्नुपर्छ, तिमिल्सिनाले भने ।
व्यापारीको हकहितमा स्थापित भएको मन्त्रालयले उपभोक्ताको हित नगर्ने भन्दै छुट्टै मन्त्रालय स्थापना हुनुपर्ने माग उनीहरुले गरेका छन् । २०७५ सालमा उपभोक्ता अधिकार ऐन आए पनि अहिलेसम्म अदालत स्थापना हुन नसक्नु राज्यको उदासीनता भएको उनीहरुको आरोप छ ।