काठमाडाैं। मध्यपश्चिम विश्वविद्यालय, उपकुलपतिको कार्यालयमा कर्मचारी सञ्चय कोष र मध्यपश्चिम विश्वविद्यालयबीच शिक्षक–कर्मचारीको उपदान तथा निवृत्तभरण व्यवस्थासम्बन्धी साेमबार सम्झौता सम्पन्न भएको छ ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. नन्दबहादुर सिंहकाे उपस्थितिमा मध्यपश्चिम विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार प्राडा.नारायणप्रसाद पौडेल र कर्मचारी सञ्चय कोषको तर्फबाट कामु मुख्य प्रवन्धक महेशप्रसाद खनालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
मध्यपश्चिम विश्वविद्यालयको स्थापनाकालदेखि नै उपदान तथा निवृत्तभरणको व्यवस्थापन एक प्रमुख चुनौतीको विषय रहेको अवस्थामा विश्वविद्यालयका वर्तमान उपकुलपति प्राडा.नन्दबहादुर सिंहको प्रत्यक्ष संग्लग्नतामा कार्यविधि तयार गरी दिगो रूपमा उक्त समस्याको समाधान गरिएको हो। यसरी समस्या समाधान भएपश्चात् विश्वविद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीमाझ खुसी छाएको साथै उत्प्रेरणा प्रदान गरेको छ।
उक्त सम्झौतापत्रमा उल्लेख भएबमोजिम ‘सार्वजनिक निकायका कर्मचारीको निवृत्तभरण तथा उपदान कोष सञ्चालन निर्देशिका, २०७७’, ‘मध्यपश्चिम विश्वविद्यालय सङ्गठन तथा शैक्षिक–प्रशासनिक नियमावली, २०६९’ र ‘मध्यपश्चिम विश्वविद्यालय शिक्षक–कर्मचारी नियमावली, २०६९’, तथा ‘मध्यपश्चिम विश्वविद्यालय शिक्षक तथा कर्मचारी उपदान एवं निवृत्तिभरण व्यवस्थापन कार्यविधि, २०७९’ अनुसार उपदान तथा निवृत्तभरणसम्बन्धी व्यवस्था हुने कुरा सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
उपदानको व्यवस्थाअन्तर्गत शिक्षक–कर्मचारीको तलवबाट मासिक रुपमा कम्तिमा ८.३३ प्रतिशत रकम कट्टी गरी कर्मचारी सञ्चय कोषमा सम्बन्धित शिक्षक–कर्मचारीको व्यक्तिगत खातामा जम्मा हुनेछ भने सोहि अनुरुप कर्मचारी सञ्चय कोषले सम्बन्धित शिक्षक-कर्मचारीलाई तोकिएको दरमा ब्याज तथा मुनाफा प्रदान गर्नेछ ।
त्यसैगरी निवृत्तभरणको व्यवस्था अन्तर्गत तोकिएका शिक्षक–कर्मचारीको तलवबाट मासिक रूपमा कम्तीमा ६ प्रतिशत रकम कट्टी गरी विश्वविद्यालयले शतप्रतिशत रकम थप गरी कर्मचारी संचय कोषमा जम्मा हुनेछ भने कर्मचारी संचय कोषले सम्बन्धित शिक्षक(कर्मचारी सेवा निवृत्तरअवकाश भएपश्चात् तोकिएको दरमा ब्याज तथा मुनाफा प्रदान गर्नेछ ।