काठमाडौं। नेपाल पत्रकार महासंघसँगको सहकार्यमा बैंक तथा वित्तीय संस्था परिसंघ (सिििबफिन) र नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई) ले पत्रकारबीच राष्ट्रव्यापी लेख लेखन प्रतियोगिता सुरु गरेका छन्।
वर्तमान अवस्थामा देखिएका आर्थिक समस्या समाधान र यसका रोडम्यापबारे राष्ट्रियस्तरमा बहस पैरवी गर्दै समाधानको निचोड निकाल्न प्रतियोगीता आयोजना गरिएको आयोजकले जनाएका छन्।
‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ विषयमा २ हजार ५ सय शब्द नबढ्ने गरी देशभरिका पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकार र स्तम्भकारले लेख पठाउन सक्ने पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेलले बताए।
महासंघका अनुसार उत्कृष्ट १५ लेखका लेखकलाई प्रमाणपत्रसहित प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौ पुरस्कारका रूपमा क्रमशः १ लाख, ७५ हजार, ५० हजार, २५ हजार र १५ हजार नगदले सम्मान गरिने छ। साथै, उत्कृष्ट १० लेखलाई प्रतिलेख १० हजार नगद तथा प्रमाणपत्र दिइने छ।
नेपाल सरकारसहितको सहभागितामा २०८० वैशाख पहिलो साता काठमाडौंमा आयोजना हुने ‘नेपाल बिजनेस समिट’ को पूर्वसन्ध्याम पत्रकार फेलोसिप कार्यक्रम आयोजना गरिने एनबिआईका अध्यक्ष विशाल गैरेले जानकारी दिए।
उनका अनुसार अर्थतन्त्रका प्रमुख चुनौती, अवसर र भावी रोडम्यापबारे पत्रकारका सिर्जनशील क्षमताबाट प्राप्त लेख प्रोत्साहन गरी राष्ट्रिय अर्थतन्त्रको सबलीकरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
पत्रकार महासंघका महासचिव रोशन पुरीले कुनै पनि सञ्चारमाध्यममा कार्यरत पत्रकारले प्रतियोगितामा भाग लिनसक्ने बताए।
सिबिफिनका महानिर्देशक गोपाल तिवारीले लेखको मौलिकता, तथ्यपरकता र लेखले औंल्याएका भावी मार्गदर्शनलाई छनौटको आधार बनाइने जानकारी दिए। अनलाइन माध्यमबाट प्राप्त लेख पाँच सदस्यीय छनौट समितिले विभिन्न मापदण्डका आधारमा छनौट गर्नेछ।