काठमाडौं। जिल्ला अदालत ललितपुरले चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) शिक्षण अस्पतालमा तीन वर्षअघि भएको मिर्गौलाको प्रत्यारोपण प्रकरणमा अवैध कार्य गरेको भन्दै चार जनालाई दोषी ठहर गरेको छ ।
अदालले सोही मुद्दामा परेका बाँकी १५ जनालाई सफाइ दिएको छ। न्यायाधीश धर्मराज पौडेलको इजलासले गत २५ माघमा सुनाएको फैसलामा प्रत्यारोपणका लागि मिर्गौला लिने दिने, लेनदेन र लेनदेनका लागि तारतम्य मिलाउनेलाई सजायको भागिदार भन्दै अन्यलाई भने सफाइ दिएको हो।
को-को भए दोषी ठहर र को-कोले पाए सफाइ?
ललितपुर जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र लुइँटेलका अनुसार सो मुद्दामा एक नाबालकसहित कुल १९ जना आरोपित रहेकोमा चार जनालाई कसुर ठहर हुने फैसला भएको छ ।
दोषी ठहर हुनेहरूमा नक्कली मामालाई मिर्गौला दिन आएका अंगदाता नागार्जुन नपा–३ का सन्तोष राई, दाताको नक्कली आमा भएर आउने अंग ग्रहणकर्ताकी बहिनी भक्तपुर नपा–९ की गीतादेवी बतास छन् ।
यस्तै नाम परिवर्तित बबरमहल–२८ संकेतका अंग ग्रहणकर्ता समेत लेनदेन र लेनदेनका लागि तारतम्य मिलाउने भोजपुर हतुवागढी गाउँपालिका–९ की रेश्मा राईलाई दोषी ठहर गरेको छ।
सूचना अधिकारी लुइँटेलले बाँकी १५ जना मध्ये एक जना प्रतिवादीको मृत्यु भएकाले उनको मुद्दा खारेजी भएको र अन्य १४ जनाले यस अभियोगबाट सफाइ पाएको बताए।
को-कोले पाए सफाइ?
कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) का मानव अङ्ग प्रत्यारोपण स्वीकृत समितिका सदस्यहरुले यस अभियोगबाट सफाइ पाएका छन्।
सफाइ पाउनेमा समितिका संयोजक डा। बालकृष्ण कालाखेती, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) का प्रमुख संचालन अधिकृत डा। सुप्रभात श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)का कानुनी सल्लाहकार अधिवक्ता रमेश काफ्ले छन्।
यस्तै सो कलेजमा कार्यरत डा. भूषण तिमिल्सिना, डा. राकेश बर्मा, ललितपुर महानगरपालिका– ३ का वडाध्यक्ष श्रीगोपाल महर्जन, जिल्ला प्रसाशन कार्यालय ललितपुरका नबराज केसी र रामकुमार केसीले पनि सफाइ पाएका छन् ।
घटना कसरी थाहा भयो?
पुरानो मेडिकल कलेजमा २७ जेठ २०७६ मा भएको मिर्गौला प्रत्यारोपण गरिएको थियो। सो प्रत्यारोपण गैर कानुनी रहेको उजुरी परेपछि नेपाल प्रहरीको मानव बेचबिखन तथा ओसारपसार ब्युरो बबरमहलले २७ असार २०७७ मा विशेष अपरेसन नै चलाएर प्रत्यारोपणसंग जोडिएका चिकित्सक, वडाध्यक्ष देखि बिरामीसम्मलाई नियन्त्रणमा लिएको थियो।
ब्युरोले सुरुमा मानव बेच बिखनसम्बन्धी कसूरमा मुद्दा चलाउने तयारीका अनुसन्धानलाई अघि बढाएको भए पनि जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले अभियोजनको क्रममा सो मुद्दा मानब बेच बिखनसम्बन्धि कसूरमा चल्न नसक्ने भन्दै मानवको अंग प्रत्यारोपण सम्बन्धि कसूरबाट चलाउन पर्ने बताएको थियो।
त्यसपछि उजुरीकर्ता समेत प्रतिवादी हुने भनि अभियोजनसम्बन्धी निर्क्योल गरे पश्चात अनुसन्धान गर्ने कार्यालय ललितपुर जिल्ला प्रहरी परिसरमा स्थानान्तरण भई १९ साउन २०७७ का दिन जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको थियो ।
मानव अङ्ग प्रत्यारोपण (नियमित र निषेध) गर्ने ऐन, २०५५ अनुसार दायर मुद्दाको फैसला गत २५ माघमा भएको थियो ।
न्यायाधीश धर्मराज पौडेलको इजलासबाट भएको फैसलामा प्रत्यारोपणका लागि मिर्गौला लिने दिने, लेनदेन र लेनदेनका लागि तारतम्य मिलाउनेलाई सजायको भागीदार भन्दै अन्यलाई भने सफाइ दिएको हो।
अदालतले सो मुद्दामा उजुरीकर्ता बबरमहल २२ संकेत राखी अनुसन्धान अघि बढाइएकोमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरबाट अभियोजनको क्रममा प्रतिवादी कायम भएका र नक्कली मामालाई मिर्गौला दिन आएका अंगदाता नागार्जुन नपा–३ का सन्तोष राई, दाताको नक्कली आमा भएर आउने अंग ग्रहणकर्ताकी बहिनी भक्तपुर नपा–९ की गीतादेवी बतास र नाम परिवर्तित बबरमहल–२८ संकेतका अंग ग्रहणकर्ता समेत लेनदेन र लेनदेनका लागि तारतम्य मिलाउने भोजपुर हतुवागढी गाउँपालिका–९ की रेश्मा राई ठहर गरेको छ।
नक्कली कागजात खडा गरेर विदेशमा रहेको व्यक्तिको विवरण भरी फरक व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको भन्दै प्रहरीको मानब बेचबिखन तथा ओसार पसार ब्यूरो बबरमहलले बेनामी उजुरी परेपछि मानब बेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानको क्रममा आफ्नो बिशेष अपरेशनमा पक्राउ नपरेका फरारप्रतिवादीहरु बबरमहल २८ र गीता देवी बतास साथै ब्युरोले तोकेको उजुरी कर्ता बबरमहल २२ नै दोषी ठहर भएको छ ।
मुद्दामा सफाइ पाएकाहरुले न्याय पाएको अनुभूति गरेको भन्दै गम्भीर प्रकृतिको यस्तो मुद्दाका सम्बन्धमा अनुसन्धानरअभियोजन गर्ने प्रहरी अधिकारीहरु अझ बढी व्यवसायिक, कुशल निपूर्ण एवं चनाखो हुनुपर्ने सुझाव दिएका छन्।