नवलपुर। नवलपुरको हर्कपुरस्थित उन्नति कल्चरल भिलेजले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘उन्नति मेला’आयोजना गरेको छ। भिलेजको दोस्रो वार्षिकोत्सवका अवसरमा शनिबार उक्त कार्यक्रम आयोजना गरिएको हो ।
नवलपुर र चितवनका महिला लघुउद्यमी र युवाउद्यमीलाई सहयोग एवं र सशक्तीकरण गर्न भिलेजको यो एकदिने मेला आयोजना गरिएको हो।
कार्यक्रममा नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल र गैंडाकोट नगरपालिकाकी उपमेयर शान्ति कोइराला मुख्य अतिथिका रूपमा थिए।
उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी लम्सालले चौधरी फाउन्डेसनअन्तर्गत उन्नति कल्चरल भिलेजले कला संस्कृतिलगायतको प्रवर्द्धन र विकासमा पुर्याएको योगदानको प्रशंसा गरे।
कला–संस्कृतिको संरक्षण र विकासले देशको समग्र विशेषतालाई झल्काउने र यिनका माध्यमबाट नेपालले विश्वसामु नयाँ परिचय स्थापित गर्न सक्ने उनको भनाइ छ।
गैंडाकोट नगरपालिका उपमेयर कोइरालाले उन्नति कल्चरल भिलेजले लोप हुन लागेको थारु समुदायको संस्कृतिलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेको बताइन्।
मेलामा डिजिटल एन्ड मोबाइल बैंकिङ वर्कसप, डिजिटल मार्केटिङ एन्ड ई–कमर्स ट्रेनिङ, नवलपुर रेसिडेन्सी एक्जिबिसन र ओपन–एयर म्युजियम उद्घाटनलगायत विभिन्न गतिविधि प्रदर्शन गरिएको थियो।
मेलामा नबिल बैंकका कावासोती शाखा प्रबन्धक मञ्जिल दुलालले डिजिटल तथा मोबाइल बैंकिङ कार्यशालाको सहजीकरण गरे।
कार्यशाला विशेषगरी वित्तीय साक्षरतामा केन्द्रित रह्यो । अनलाइन वित्तीय सेवा, डिजिटल बैंकिङ एप, तिबाट पाइने सुविधा, भुक्तानीपोर्टल र यसका फाइदालगायतका विषयमा उनले कार्यशालामा सहभागीहरुलाई सुसूचित गरे।
स्थानीय महिला लघुउद्यमी र महिला समूहहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न र वित्तीय समावेशीकरणमा सहभागी हुन कार्यशालाले सहयोग पुग्ने विश्वास लिइएको छ।
यसैगरी मेलामा अश्विन न्यौपानेले डिजिटल मार्केटिङ र ई–कमर्स ट्रेनिङको सहजीकरण गरे। विशेषगरी युवाउद्यमी, मार्केटिङ प्रोफेसनल एवं बिजनेस स्टार्टअपका लागि लक्ष्य गरी यो कार्यशाला गरिएको हो।
तालिम सोसल मिडिया मार्केटिङ, सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ), डिजिटल मार्केटिङ, डाटा एनालाईसिस् र ब्रान्ड व्यवस्थापनमा केन्द्रित थियो ।
मेलाको मुख्य आकर्षणका रुपमा नवलपुर रेसिडेन्सी एक्जिबिसन र ओपन एयर म्युजियम उद्घाटनको गरिएको थियो। नवलपुर रेसिडेन्सी एक्जिबिसनमा विशेषगरी नवलपुर र चितवनको ग्रामीण जीवनको सौन्दर्यलाई प्रस्तुत गरिएको थियो।
ओपन–एयर म्युजियममा चर्चित नेपाली एवं अन्तर्राष्ट्रिय कलाकारले बनाएका माटो एवं सिसाबाट निर्मित र ढुंगामा कुँदिएका कलाप्रदर्शन गरिएको छ।
उक्तअवसरमाफोटोग्राफीएवं भिडियोग्राफी रेजिडेन्सी र सेरामिक रेजिडेन्सीमा सहभागीकलाकारलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।
कार्यक्रममाकलाकारहरु सगुनी शाक्य, रोशन मिश्रलगायतको उपस्थिति थियो। कार्यक्रममा प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारी, नायवप्रहरी उपरिक्षक सन्तोष पाठकलगायत सहभागी थिए।