काठमाडौं। मेटलाइफ फाउन्डेसनले नेपालका विभिन्न लघुवित्त संस्थाहरुसँग आबद्ध महिला उद्यमीहरुको आर्थिक अवस्था सुदृढ गर्ने तथा उनीहरुलाई डिजिटल ज्ञान प्रदान गर्ने उद्देश्यका साथ स्वावलम्बन विकास केन्द्र (सिएसडी) नेपालसँग सहकार्य गरेको छ।
यस पहलबमोजिम, सिएसडिले विभिन्न लघुवित्तमा आबद्ध महिला उद्यमीहरुलाई सञ्जाल विकासको अवसर, विशेषज्ञबाट व्यवसायिक सल्लाह सुझाव, तथा व्यापक प्रशिक्षण प्रदान गरी उद्यमशीलताको दक्षता बढाउने कार्य गर्नेछ।
यस सहकार्यले नेपालमा उदीयमान महिला उद्यमीहरुका लागि समावेशी व्यवसायिक वातावरण सिर्जना गर्ने लक्ष्य राखेको छ।
उद्यमशीलता र नवप्रवर्तन तालिम, वित्तीय तथा डिजिटल ज्ञानसम्बन्धी कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच, तथा देशैभर सञ्जाल विकास जस्ता कार्यक्रमहरु मार्फत करिब ५ हजार महिला उद्यमीहरुको उत्थानका लागि यस सहकार्य अन्तर्गत कूल ५० हजार अमेरिकी डलर प्रयोग गरिनेछ। यस परियोजनाका लागि एमएससी ग्लोबल कन्सल्टिङ नामक एक परामर्श कम्पनीले नेपालभरका विभिन्न लघुवित्त संस्थाहरुमार्फत समन्वय गर्न सिएसडी नेपालसँग सम्झौता गरेको छ।
मेटलाइफ फाउन्डेसनले महिला नेतृत्वमा रहेका व्यवसायहरुलाई लक्ष्य गरी सुरुवात गरिएको यस सहयोगको उद्देश्य व्यवसायमा महिलाहरुको सहभागितालाई बढाउनु र बजारको संवेदनशीलताबाट सुरक्षा प्रदान गर्नु रहेको छ।
साथै यसले डिजिटल प्रवृत्ति तथा वित्तीय विशेषज्ञताको परिचयमार्फत महिला उद्यमीहरुको डर हटाउन र उनीहरुलाई दीगो जीविकोपार्जनका लागि असल निर्णयहरु लिन आत्मविश्वास प्रदान गर्न समेत मद्दत गर्नेछ।
यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भारत, बंगलादेश, नेपाल र भियतनाममा समावेशीता र स्वतन्त्रता मार्फत समानतालाई अंगाल्ने वाचास्वरुप मेटलाइफ फाउन्डेसनले यस साझेदारी परियोजनाको सुरुवात गरेको हो।