गण्डकी। गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा अपांगता भएका, मिर्गौलापीडित बिरामीका परिवारलगायत सात हजार ६१ जनाको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ। अपांगता भएकाका परिवार पाँच हजार ९४६, मिर्गौलापीडित बिरामीका परिवार ४३१ र द्वन्द्वपीडित ३८२ रहेका छन्।
त्यसैगरी जनआन्दोलनका घाइते २८, सहिद तथा बेपत्ता परिवारका ६३ र कास्कीमा क्रियाशील २११ जना पत्रकारको स्वास्थ्य बिमा गरिएको स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेश कार्यालयका संयोजक जीवलाल खरेलले जानकारी दिए। ‘प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा आर्थिक वर्ष २०८१÷८२ मा सात हजार ६१ जनाको स्वास्थ्य बिमा भएको हो’, उनले भने, ‘अपांगता भएका नागरिकलगायतले निःशुल्क स्वास्थ्य बिमाको सुविधा पाइरहनुभएको छ।’
गण्डकी प्रदेशका एक लाख ६१ हजार ९३५ ज्येष्ठ नागरिक, दुई हजार ३११ एचआइभी संक्रमितको परिवार, अतिअशक्त अपांगता भएका पाँच हजार ६३० परिवार, कुष्ठरोग सङ्क्रमितका ९० परिवार, क्षयरोग सङ्क्रमितका ५७ परिवार र चार हजार ६४२ महिला स्वास्थ्य स्वयंसेविकाका परिवार स्वास्थ्य बिमामा आबद्ध छन्।
प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएको संयोजक खरेलले बताए, जुन प्रदेशको कुल परिवार संख्यामध्ये ६७.०१ प्रतिशत हो। गण्डकीमा १३ लाख ५६ हजार ६९८ जनाको स्वास्थ्य बिमा गरिएको हो । जनसंख्याका आधारमा कुल बीमित ५५ प्रतिशत पुगेको जनाइएको छ।
कुल बीमितमध्ये सेवा लिनेको संख्या सात लाख ३८ हजार २३२ अर्थात् ५४.०४ प्रतिशत रहेको छ । बिमा नवीकरण गर्ने परिवारको संख्या तीन लाख ३५ हजार ५०५ रहेको छ। ७५ प्रतिशत परिवारले बिमा नवीकरण गरेको पाइएको छ। स्वास्थ्य बिमाका लागि प्रदेशभर ७२५ जना दर्ता सहयोगी सक्रिय रहेको संयोजक खरेलले बताए।
प्रदेशका ४७ स्थानीय तहमा स्वास्थ्य बिमासँग सूचीकृत भएका सेवा प्रदायक÷अस्पताल रहेका छन्। सरकारी ५६, निजी चार र सामुदायिक एक गरी ६१ वटा सेवाप्रदायक संस्था सूचीकृत छन्। ७० वर्ष नाघेका ज्येष्ठ नागरिक, गम्भीर प्रकृतिका दीर्घरोगी, अतिअशक्त र गरिब परिचयपत्र पाएका परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने गरिएको छ।
पाँच जनासम्मको परिवारले वार्षिक तीन हजार ५०० को बिमा गरेबापत एक लाखसम्मको उपचार सेवा पाउँछन्। पाँच जनाभन्दा बढीको परिवार भएमा प्रतिसदस्य ७०० थप्नुपर्ने प्रावधान छ। ठूलो परिवारले दुई लाखसम्मको उपचार सेवा पाउने जनाइएको छ।
बोर्डले तोकेका एक हजार २८८ प्रकारका औषधी, शल्यक्रियासहित जटिल रोगको उपचार पनि बिमाबाट हुने गरेको संयोजक खरेलले बताए।–रासस