काठमाडाैं। सर्वोच्च शिखर सगरमाथा आरोहणमा जान लागेका नेपाल प्रहरी गण सामाखुसीमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक पुरूषोत्तम नेपालीलाई बिहीबार झन्डा हस्तान्तरण गरिएको छ।
नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले काठमाडौंमा बिहीबार आयोजित एक कर्याक्रमका बीच प्रहरी वरिष्ठ नायब निरीक्षक नेपालीलाई राष्ट्रिय झन्डा, नेपाल प्रहरीको झन्डा, इन्टरपोलको झन्डा एवं आरोहणमा प्रयोग हुने सामग्री हस्तान्तरण गरे।
अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोल स्थापनाको शताब्दी वर्षको अवसरमा उनले सगरमाथा आरोहण गर्न लागेकाे प्रहरी प्रधान कार्यालयले जनाएको छ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले आरोहणमा जान लागेको टोलीलाई यात्राको सहज, सुखद एवं सफलताको शुभकामना व्यक्त गरे। साथै आरोहणमा साथ सहयोग एवं सहजीकरण गर्ने विभिन्न सरकारी निकाय तथा इलाइट हिमालयन एड्भेन्चरलाई पनि धन्यवाद दिए।
प्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको २०७९ फागुन २६ गतेको निर्णयानुसार उक्त सगरमाथा आरोहण स्वीकृत भएको थियो। नेपालीले माउन्टेनियरिङ तालिम प्राप्त गरी छ हजार चार सय ७६ मिटर उचाइको मिरा पिकलगायत अन्य हिमाल सफलतापूर्वक आरोहणको अनुभव प्राप्त गरिसकेका छन्।
सन् १९२३ मा अष्ट्रियाको भियनामा स्थापना भएको इन्टरपोलले सफलतापूर्वक १००औं वसन्त पूरा गरेको अवसरमा इन्टरपोलको शताब्दी वर्ष मनाउने क्रममा नेपाल प्रहरीले पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने योजना बनाएको छ।
यस आरोहणमार्फत कुनै पनि आपराधिक क्रियाकलाप हुन नदिने र कानून कार्यान्वयनमा नेपालको पूर्णरूपमा ऐक्यबद्धता रहेको भन्ने महत्त्वपूर्ण सन्देश विश्वसामु प्रवाह हुने र यसबाट नेपालको पर्यटन प्रवर्द्धन भई अर्थतन्त्रमा टेवा पुग्ने विश्वास गरिएको छ।