काठमाडौ। अख्तियार अनुसन्धान दुरुपयोग आयोगले नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख, नापी अधिकृतसहित ८ जनाविरुद्ध विशेष अदातलमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
जग्गाको नक्सा आफूखुशी जोडेको र नक्सामा नभएको क्षेत्रफललाई कानुनविपरीत कित्ताकाट गरेको भन्दै आयाेगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।
आयाेगले तत्कालीन नापी अधिकृत दुर्गादास महर्जन, नापी अधिकृत रवि शंकर पाण्डेय र सर्भेक्षक रामनारायण यादवले मूलपानीकाे जग्गा कित्ताकाट गर्दा सरकारी कागजातको रुपमा चिनिने नक्सामा अनाधिकृतरुपमा कित्ताको आकारप्रकार परिवर्तन गरी नक्सा सच्याएको आरोप लगाएको छ।
यस काममा मालपोत चाबहिलका तत्कालीन मालपोत अधिकृत विष्णुप्रसाद काफ्ले र नायव सुब्बा उत्तम कुँवर तथा झापाको कमल गाउँपालिका -२ का योगेन्द्र आचार्य, काठमाडौं कागेश्वरी मनोहरा-९ का सिताराम अधिकारी र काठमाडौं महानगरपालिका -९ का नविन दाहालको पनि संलग्नता रहेको अख्तियारले दाबी गरेकाे छ।
आचार्य, अधिकारी र दाहालले टायल चेकबाट क्षेत्रफल बढी कायम गरी नक्सा तयार गर्ने कार्यमा नापी कार्यालय, चावहिलका कर्मचारीहरुलाई परिवर्तित नक्साबमोजिमको क्षेत्रफल कायम गरी गलत लिखत पारित गर्न मतियारको रुपमा सहयोग पुर्याएको आरोप छ।
उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम मूख्य कसुरदारलाई हुने सजायसरह सजाय हुन मागदावी लिइएको अख्तियारले जनाएकाे छ।