काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहा (बालेन) ले सर्वोच्च अदालतको आदेश स्थानीय सरकारले मात्र नभई प्रदेश र संघ सरकारले पनि पालना गर्नुपर्ने बताएका छन्।
सिंहदरबारसहित शितल निवास, बालुवाटारको फोहोर उठाउन महानगरलाई सर्वोच्चले दिएको आदेशको आधिकारीक पत्र पाएपछि उनले अदालतको आदेशलाई सबैले पालना गर्नुपर्ने बताएका हुन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा पाेष्ट गर्दै शुक्रबार दिएको आदेशको पत्र सोमबार मात्रै पाएको बताएका छन्। गत चैत २६ गतेदेखि संघ सरकारले आफ्ना कुरा बेवास्ता गरेको भन्दै मेयेर शाहले सिंहदरबारसहितको फोहोर उठाएका छैनन्। मेयर शाहको उक्त कदमविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए।
निश्चित क्षेत्रको फोहरमैला नउठेको विषय अदालतमा प्रवेश हुनु र सर्वोच्च अदालतबाट फोहरमैला उठाउन आदेश दिइनुले नागरिकको स्वच्छ र स्वस्थ ठाउँमा बस्न पाउने अधिकारको गम्भीरता थप पुष्टि हुनेसमेत उनले बताएका छन्।
उनले लेखेका छन्, ‘काठमाडौं महानगरले फोहरमैला व्यवस्थापन र सरसफाइसँग सम्बन्धित विषय प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराउँदै यसलाई सार्वजनिक सरोकारको विषयका रुपमा ग्रहण गरेकामा सम्मानित अदालतप्रति आभार व्यक्त गर्दछौं।’ साथै अदालतले दिएको आदेशको परिपालना गर्ने सन्दर्भमा महानगर प्रष्ट, प्रतिबद्ध र दृढ रहेको उनको भनाइ छ।
त्यसबाहेक अदालतका फैसला, आदेश र निर्देशनहरु काठमाडौं महानगरले मात्रै नभई संघीय सरकारलगायत सबैले दृढतापूर्वक पालना गर्न आवश्यक रहेको मेयर शाहाले बताएका छन्। बागमती, विष्णुमती र मनोहरा तथा तिनका सहायक नदीहरुको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरु भत्काएर नदिको स्वच्छता कायम गराउने तथा सार्वजनिक जग्गाको संरक्षण गर्नेसम्बन्धी २०७६ साउन २० गतेको सर्वोच्चको आदेश पालना हुनुपर्ने उनको भनाइ छ।
त्यस्तै स्वास्थ्य मन्त्रालय भवनमा मौलिकता बिगारेर थपिएको संरचना भत्काउनेसम्बन्धी २०५७ असार ९ गते सर्वोच्चको आदेश, तीनकुने जग्गा अधिग्रहण तथा मुअब्जासम्बन्धी दुई दशक अगाडिको सर्वोच्चको आदेशलगायत आम महानगरवासीको पक्षमा सम्मानित सर्वोच्च अदालतबाट भएका विभिन्न आदेशहरुको पालना नभएको विषयमा पनि सबैले उत्तिकै जिम्मेवारीबोध गर्न उनको आग्रह छ।
तस्वीर मेयर बालेन शाहकाे फेसबुकबाट