काठमाडौं। सिन्धुलीको गोलन्जोर गाउँपालिकाका लेखा समिति संयोजकले पालिका अध्यक्ष र उपाध्यक्षले आर्थिक अनियमितता गरेको आरोप लगाएका छन्। पालिकाको वडा नम्बर दुईका वडा अध्यक्षसमेत रहेका समिति संयोजक दौलत कार्कीले अध्यक्ष शंकरराज बराल र उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने ‘पुकार’ले पालिकाको स्रोत र साधनको दुरुपयोग गरी आर्थिक अनियमितता गरेको आरोप लगाएका हुन्।
संयोजक कार्कीले विज्ञप्ति जारी गर्दै निर्वाचित भएपछि पालिका अध्यक्ष र उपाध्यक्षले दुइटा ‘फुटन टुनल्यान्ड’ गाडी खरिद गरेको जनाएका छन्। उक्त गाडीको साजसज्जा (डेकोरेसन) बिक्रेता कम्पनीले नै गरे पनि डेकोरेसन खर्चसहित खरिद मूल्य पालिकाबाट लिन बिल पेस गरेको दाबी लेखा समिति संयोजकको छ।
संयोजक कार्की दुइटा गाडी खरिदको मूल्य ८५ लाख रुपैयाँ भएको बताउँछन् भने, अध्यक्ष बरालले करिब ७५ लाख रुपैयाँमा गाडी खरिद गरेको जनाएका छन्। गाडीको मूल्य बाहेक डेकोरेसन खर्च ४ लाख ७४ हजार ४८७ रुपैयाँ पेस भएको छ। गाडी खरिद मूल्य ८५ लाख रुपैयाँभित्रै डेकोरेसन खर्च कम्पनीले जोडेको संयोजक कार्कीको भनाइ छ।
‘संयोजकले भनेका कुरा अफवाह हुन्, ७४/७५ लाखमा दुइटा गाडी किनेको हो त्यही पनि भुक्तानी भएको छैन,’ अध्यक्ष बरालले भने। डेढ महिना पहिला गाडी खरिद भएको र यही आर्थिक वर्षभित्र भुक्तानी भइसक्ने उनको भनाइ छ।

तर, संयोजक कार्की भने, दुइटा गाडीको बिल ८५ लाख रुपैयाँ पेस भएको र इन्धन क्षमता ७६ लिट हुँदा पनि दैनिक ८० लिटर प्रयोग गरेको बिल पालिकामा आएको बताउँछन्। क्यापिटल नेपालसँग संयोजक कार्कीले भने, ‘७६ लिटर क्षमताको गाडीमा ८० लिटर प्रयोग गरेको बिल पेस गरेको देखिन्छ कसरी विश्वास गर्नु ?’
त्यस्तै बागमती प्रदेशबाट गोलन्जोरमा कुरिलो खेतीका लागि बिनियोजित २५ लाख रुपैयाँ एक व्यवसायीको कृषि फार्मलाइ दिन खोजिएपनि फार्म वेरुजु देखिएपछि सोही व्यवसायीको छोरीको नाममा नयाँ फार्म दर्ता गरी रकम भुक्तानीका लागि कर्मचारीलाई दबाब दिएको संयोजक कार्की बताउँछन्।
तर, पालिका अध्यक्ष बराल दुइटा कम्पनीलाई कुरिलो खेतीला लागि छनोट गरिएको बताउँछन्। ‘एउटा पहिलादेखि नै कुरिलो खेतीमा काम गर्दै आएको कम्पनी छ त्यसलाई २० लाख रुपैयाँ र कुरिलो खेतीको तयारी गरेको नयाँ कम्पनीलाई ५ लाख रुपैयाँ दिने निर्णय भएको छ।’ अध्यक्ष बरालले भने, ‘एउटै कम्पनी वा दुइटालाई बराबर रकम दिनुपर्छ भन्ने व्यवस्था छैन, नयाँलाई पनि प्रोत्साहन गर्रौं भनेर मिलाएको हो।’
त्यस्तै पालिकामा प्रयोग गरिएको ५०४२ नम्बरको टोयोटा कम्पनीको गाडी सामान्य मर्मत गर्दा एक लाख ९७ हजार रुपैयाँ भुक्तानी भएको संयोजक कार्कीको दाबी छ। सो विषय प्राविधि भएकाले आफूलाई धेरै जानकारी नभएको यद्यपि बिल पालिकामा पेस भएको पालिका अध्यक्ष बताउँछन्।
अध्यक्ष बराल र उपाध्यक्ष न्यौपानेले एक महिना क्रमशः ६० र ४५ हजार भन्दा बढी रकम दैनिक भ्रमणभत्ताको रुपमा लिएको र सो भुक्तानी मासिक रुपका नियमित गर्न कर्मचारीलाई दबाब दिएको संयोजक कार्कीको आरोप छ।
त्यस्तै सञ्चारमाध्यममा सूचना प्रवाहका गरेका कारण मासिक रुपमा ३० हजार रुपैयाँ भुक्तानी गर्न पनि कर्मचारीलाई दबाब दिएको संयोजक कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। तर, अध्यक्ष बराल उक्त कुरा स्वीकादैनन्। आफूले भ्रमणभत्ता नलिएको र संयोजकले अफवाह फैलाएको उनको दाबी छ।