काठमाडौं। केही दिनयता नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहको पर्दाफास भएपछि जताततै यही विषयमा चर्चा भइरहेको छ।
यसखालको गम्भीर आपराधिक काममा संलग्नता पुष्टि भएपछि प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकराज पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राई र नेकपा (एमाले) सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी जारी गर्याे।
पक्राउ पुर्जी जारी लगत्तै सचिव पाण्डे (पूर्व गृहसचिव) आफैं प्रहरी कार्यालयमा उपस्थित भए। प्रहरीले राईलाई घरबाटै तथा रायमाझीका छोरालाई काठमाडौं बाहिरबाट पक्राउ गरेको थियो। पूर्वमन्त्री रायमाझी भने फरार छन्। मन्त्री, सचिवजस्तो उच्च ओहदामा बसेका व्यक्तिहरू नै गम्भीर आपराधिक कार्यमा संलग्न हुँदा सर्वसाधारण जनताले राजनीतिक दल, सरकार, प्रशासनबाट के आशा गर्न सक्छन्?
अर्बौं घोटालामा दर्जनौं ‘हाइ प्रोफाइल’ संलग्न भएपछि वर्तमान गठबन्धन सरकार अहिले अप्ठेरो स्थितिमा छ। भलै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो प्रकरणमा संलग्न जोसुकै भए पनि कानुनी कठघरामा ल्याउने प्रतिबद्धता जनाएका छन्।
यो प्रकणरमा संलग्न नेकपा (एमाले) सचिव तथा पूर्वमन्त्री रायमाझी विगतमा प्रधानमन्त्री दाहालकै दल नेकपा (माओवादी) का उच्चस्तरका नेता थिए। एमालेसँग एकीकृत भएर बनेको नेकपा एकीकृत टुक्रिएपछि रायमाझी र बादल भने केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) मा गएका थिए।
पुनः यही प्रकरणमा नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा, पूर्व गृहमन्त्री बालकृष्ण खाँडपत्नी मञ्जु खाँड पनि संलग्न भएको अडियो सार्वजनिक भएपछि घटनाले नयाँ मोड लिएको छ।
अब प्रधानमन्त्री दाहालले यो प्रकरणमा मुछिएका पूर्वसहकर्मी बादल, रायमाझीसहित सत्तासाझेदार कांग्रेसका नेतालाई कसरी कानुनी कठघरामा ल्याउँछन्, जनताले त्यही कुरेर बसेका छन्।