राँझा। बाँकेको कोहलपुर नगरपालिका-७ लखना क्षेत्रका बासिन्दा खानेपानीको अभाव झेल्दै आएका छन्। कोहलपुरको दुर्गम भनेर चिनिने लखना क्षेत्रमा जमिनको सतहबाट पानी नआउँदा किनेर खानुपर्ने बाध्यता छ।
लखना गाउँमा खानेपानीको जोहो गर्ने सर्वसाधारणलाई सास्ती हुने गरेको स्थानीय सुरेश चौधरीले बताए। ‘जमिनभन्दा पानीको सतह धेरै तल घट्दै गएकाले नल्कामा पानी नआउँदा खानेपानीको ठूलो समस्या भएको छ,’ उनले भने।
वडा नं ७ का वडाध्यक्ष ठग्गा थारुले आफ्नो वडामा मुख्य समस्या खानेपानीको रहेको बताए। जमिनको सतहबाट पानी नआउँदा वडा कार्यालयलेसमेत जारको पानी खरिद गरेर प्रयोग गर्न बाध्य भएको उनको भनाइ छ।
वडाको बजेटले खानेपानी योजना कार्यान्वयनका लागि सम्भव नरहेकाले नगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारसमक्ष वडाबाट खानेपानी योजना माग गरिएको उनले बताए।
‘वडामा आउने ५५ लाख रुपैयाँको बजेटले ग्राभेल खसाउनसमेत सकिने स्थिति छैन, त्यसैले खानेपानी, शिक्षा र स्वास्थ्यका समस्यालाई समाधान गर्न पहल गरिदिन दौडधुप गरिरहेको छु,’ वडाध्यक्ष थारुले भने, ‘वडावासीलाई स्वच्छ खानेपानीको व्यवस्थाका लागि आगामी वर्षको बजेटमा प्राथमिकता दिन सबैलाई अनुरोध गरेको छु।’
बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले लखना क्षेत्रलगायत कोहलपुरका अन्य क्षेत्रमा अझै पनि खानेपानीको समस्या रहेको स्वीकार्दै समाधानका लागि पहल भइरहेको बताए।
लखनावासीले आफूसमक्ष पनि खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका समस्याबारे जानकारी गराएको सुनाउदै उनले संघीय, प्रदेश र नगरपालिकासँग समन्वय गरेर समस्याको समाधान हुनेगरी आफूले कार्ययोजना बनाएको उल्लेख गरे।
नगरपालिकाको दुर्गममा रहेको वडा नं ७ को लखनालगायत बस्तीलाई सडक पूर्वाधार सँगसँगै खानेपानी, शिक्षा र स्वास्थ्यको समस्या समाधान गर्न योजनाबद्ध तरिकाले काम गर्नुपर्ने आवश्यकता रहेको लुम्बिनी प्रदेशसभा सदस्य वसन्ती अधिकारीले बताए।