काठमाडौं। संघीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ देखि सुरु हुँदै छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो।
प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिको कार्यालयबाट सदनको अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्रबारे सभामुख देवराज घिमिरेले जानकारी दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन हुने सम्भावित कार्यसूचीमा उल्लेख छ।
अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेतालाई दलीय आधारमा मन्तव्य व्यक्त गर्न समय दिइनेछ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार नेपाल एमाले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई सम्बोधन गर्नेछन्।
व्यवस्थापन कार्यतर्फ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
संसद्को हिउँदे अधिवेशन गत चैत १८ मा अन्त्य भएको थियो। राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ। राष्ट्रपतिबाट नीति तथा कार्यक्रममार्फत संसद्लाई सम्बोधन हुनेछ।
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नेछन्। संघीय संसद्को यस अधिवेशनलाई बजेट अधिवेशनका रूपमा पनि लिइन्छ।
वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्रि बजेट’ छलफल वैशाख २८ देखि हुनेछ।