नयाँ दिल्ली। भारत सरकारले पेट्रोकेमिकल तथा औद्योगिक रसायन क्षेत्रलाई ठूलो राहत दिँदै ४० भन्दा बढी औद्योगिक कच्चा पदार्थमा लिँदै आएकाे भन्सार शुल्क हटाएकाे छ। केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले जारी गरेको सूचनाअनुसार यो छुट २ अप्रिल २०२६ देखि लागू भएको छ र आगामी ३० जुन २०२६ सम्म कायम रहनेछ।
के–के पदार्थ छुटको दायरामा?
सरकारले जारी गरेको सूचीमा अमोनिया, टोलुइन, स्टाइरिन, मेथानोल, आइसोप्रोपाइल अल्कोहल, एसिटिक एसिड लगायतका आधारभूत रसायनदेखि लिएर पोलिप्रोपाइलिन, पोलिस्टाइरिन, पोलिभिनाइल क्लोराइड, पोलिकार्बोनेट, एपोक्सी रेजिन, पोलियुरेथेन, पिइटी चिप्स तथा पोलिथर ईथर केटोन जस्ता उच्च प्रविधियुक्त इन्जिनियरिङ प्लास्टिकसमेत समावेश छन्।
कति शुल्क मिनाहा भयो?
यसअघि यी पदार्थहरूको आयातमा ७.५ प्रतिशत भन्सार शुल्कका अतिरिक्त १० प्रतिशत अधिभारसमेत जोड्दा प्रभावकारी दर ८.२५ प्रतिशत पुग्दथ्यो। सरकारले यो सम्पूर्ण शुल्क अब तीन महिनाका लागि शून्य गरेको हो।
विश्लेषकहरूका अनुसार यस निर्णयले कच्चा पदार्थ आयात लागत उल्लेखनीय रूपमा घट्नेछ, जसको सीधा फाइदा रासायनिक, प्लास्टिक, कपडा, निर्माण तथा औषधि उद्योगलाई पुग्नेछ। विशेषगरी साना तथा मझौला उद्योगहरूले यस अवधिमा आफ्नो उत्पादन लागत घटाउन सक्ने अवसर पाउनेछन्।
भारतसँग सीमा जोडिएका नेपाल लगायतका छिमेकी मुलुकका व्यापारी तथा आयातकर्ताहरूका लागि पनि यो निर्णय सकारात्मक मानिएको छ। किनकि भारतबाट आयात हुने यी पदार्थहरूको मूल्यमा कमी आउने प्रबल सम्भावना रहेको छ।
यो छुट अस्थायी प्रकृतिको भएकाले सम्बन्धित व्यापारी तथा उद्योगीहरूले ३० जुनभित्रै आफ्नो आयात तथा उत्पादन योजना तदनुसार मिलाउन आग्रह गरेका छन्। तोकिएको म्याद पछि सामान्य दर पुनः लागू हुने जानकारी गराइएको छ।