काठमाडौं। संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ। आज दिउँसो १ बजेबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुुनाए।
सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको बेहोरा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा र प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सांसद सदस्यको मनोनयनबारे जानकारी गराएका छन्।
बजेट अधिवेशन भनियो आजदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भनिए पनि अन्तिम समय आएर कार्यसूचीबाट हटाइएको छ।
बैठकमा दलीय आधारमा सांसदले आ–आफ्नो मन्तव्य राखिरहेका छन्। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ लाई प्रस्ततु गर्न अनुमति माग्ने प्रस्ताव र, वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।
संसद्को हिउँदे अधिवेशन गत चैत १८ मा अन्त्य भएको थियो। राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ। राष्ट्रपतिबाट नीति तथा कार्यक्रममार्फत संसद्लाई सम्बोधन हुनेछ।
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नेछन्। बजेट प्रस्तुत हुने १५ दिनअगावै प्रि–बजेट छलफल गर्नुपर्ने कानुनी प्रावधान छ।