काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विधि निर्माण प्रक्रियाकाे ढिलाइले समस्याका चाङ बढ्दै गएका बताएका छन्।
आज प्रतिनिधिसभा बैठकमा दलीय आधारमा सम्बोधन गर्दै उनले देशमा देखिएका धेरै समस्या विधि निर्माणको प्रक्रियामा ढिलाइका कारण उत्पन्न भएका बताए।
प्रमुख सचेतक घिमिरेले भने, “विधि निर्माण प्रक्रियालाई निश्चित समय सीमाभित्र ढालेनौँ भने समस्याको चाङ बढ्दै जान्छ र अप्ठ्यारोमा फस्दै गइन्छ। शिक्षक आन्दोलन, कर्मचारीको चेतावनी, चिकित्सकको आन्दोलन यी सबै विधि निर्माणको प्रक्रियागत ढिलाइका कारण उत्पन्न भएका हुन्। त्यसैले यसमा संवेदनशील हुन जरूरी छ।”
उनले शान्ति प्रक्रियाको २० वर्षभित्र मुलुकले प्रगति नगरेको भन्न नमिल्ने बताए। “कुल गार्हस्थ उत्पादन (जिडिपी)मा फड्को,प्रतिव्यक्ति आय,सरदर आयु, साक्षरता प्रतिशत, बाल तथा मातृ मृत्युदरमा उल्लखेनीय प्रगति भएको छ। बिजुलीको आपूर्ति, इन्टरनेटको पहुँच बढेको छ। खाद्य सुरक्षामा पनि पहिलेभन्दा राम्रो अवस्थामा छौँ”, प्रमुख सचेतक घिमिरेको भनाइ थियो।
उनले ठूला परियोजनाका लािग अन्तरराष्ट्रिय लगानी बढाउनुपर्ने आवश्यकता रहेको बताए। उनले भने, “हाम्रा पूर्वाधार सीमित छन्। अन्तरराष्ट्रिय लगानी नबढाइकन समृद्धि हासिल गर्न सक्दैनौँ। मुलुक बनाउन स्रोत व्यवस्थापन गर्नुपर्छ। स्रोत व्यवस्थापनमा लागेको ऋणलाई खर्च नसम्झी लगानी सम्झनुपर्छ। त्यो ऋण प्रतिफलयुक्त परियोजनामा खर्च भयो वा भएन यो महत्वपूर्ण कुरा हो।”