विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा हुने दुई दिने प्रदेशस्तरीय लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुने धारणा व्यक्त गरेका छन्।
नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशद्वारा आयोजित ‘कोशी प्रदेशको आर्थिक अवस्थाः लगानीका सम्भावना र चुनौती’ विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले ‘समृद्ध कोशी प्रदेश, सम्पत्र नेपाल’ भन्ने संकल्प पूरा गर्न वैशाख १८ र १९ गते हुन गइरहेको लगानी सम्मेलन कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे।
देशलाई समृद्ध बनाउन, राजस्व वृद्धि गर्न र रोजगार सिर्जना गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले सातवटा कानुन संशोधनसहित लगानीमैत्री वातावरण सिर्जना गर्ने पक्षमा प्रदेश सरकार केन्द्रित रहेको बताए।
उनले उद्योगी व्यवसायीको सुझावका आधारमा कानुन संशोधन गर्न लागेको स्पष्ट गर्दै निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिई आर्थिक गतिविधिलाई थप चलायमान बनाउने पक्षमा कोशी प्रदेश सरकार रहेको बताएका थिए।
मुख्यमन्त्री कार्कीले स्वीस सरकारको सहयोगमा कोशी प्रदेशमा साना र मझौला उद्योग स्थापना गर्न चाहने उद्योगी-व्यवसायीलाई ५० लाखदेखि तीन करोडसम्मको ऋणका लागि धरौटी रकमसमेत सुनिश्चित गरिदिने प्रदेश सरकारको नीति तथा कार्यक्रमबाट लाभान्वित हुन सबैसँग आग्रह गरे।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आवश्यक कानुनको व्यवस्थासहित निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न अनुरोध गर्दै लगानी विस्तार तथा प्रवर्द्धनमा केन्द्र एवं प्रदेश सरकार र स्थानीय तहबीच आपसी समन्वय हुनुपर्नेमा जोड दिए।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले प्रदेशको समृद्धि र नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन आसन्न लगानी सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरेका थिए।