काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोली वैशाख १६ गतेदेखि भारत सरकारको निमन्त्रणमा भारत भ्रमणमा जान लागेको छ।
मुख्यमन्त्री शाहले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै मित्रराष्ट्र भारत सरकारको औपचारिक निमन्त्रणामा वैशाख १६ देखि २२ गतेसम्म भ्रमणमा जाने जानकारी दिए।
उनले भने, 'नेपालको इतिहारसमा पहिलो पटक प्रदेश सरकारलाई भारत सरकारले भ्रमणको औपचारिक निमन्त्रणा गरेको छ, प्रदेश सरकारले यसलाई उपलब्धिको रूपमा लिएको छ।'
उनले भ्रमण टोलीले प्रदेश सरकारले आगामी असोजमा गर्न लागेको लगानी सम्मेलनका साथै ऊर्जा, पर्यटन, कृषिलगायत विषयमा भारतीय पक्षसँग छलफल गर्ने जानकारी दिए।
टोलीले भारतको दिल्ली, देहरादून, अयोध्या, लखनउलगायत ठाउँको भ्रमण गर्ने आज पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। भ्रमण तालिका अनुसार भ्रमण टोली पहिलो दिन काठमाडौंबाट हवाई मार्ग हुँदै दिल्ली पुग्ने छ।
दिल्लीमा संघीय मन्त्रीसँग भेटवार्ता गरेपछि विवेकानन्द अन्तर्राष्ट्रिय फाउण्डेसनसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ।
त्यसपछि टोलीले भारतीय कृषि अनुसन्धान संस्थाको अवलोकन भ्रमण, उत्तराखण्डका मुख्यमन्त्री र कृषि मन्त्रीसँग भेटवार्ता पश्चात उत्तर प्रदेशको राजधानी लखनउबाट स्थलमार्ग हुँदै कैलालीको धनगढी आइपुग्ने कार्यक्रम तय भएको मुख्यमन्त्री शाहले जानकारी दिए।
मुख्यमन्त्री नेतृत्वको भ्रमण टोलीमा प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी, नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक नरेशकुमार शाही सहभागी रहेका छन्।
यस्तै, नेकपा माओवादी केन्द्रका झपटबहादुर साउद, प्रदेश नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका प्रमुख सचिव डा. कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय, स्वकीय सचिव रामबहादुर विष्ट सहभागी हुने छन्।