काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेमाथि प्रमाणित गर्न चुनौती दिएका छन् । प्रधानमन्त्री ओलीको यो चुनौती नेपाली कांग्रेसका महामन्त्री गगन थापा लक्षित छ ।
कांग्रेस महामन्त्री थापाले बिचाैलियाकाे पहुँच प्रधानमन्त्रीकाे शयन कक्षसम्म रहेकाे बताएका थिए। २ वैशाखमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा थापाले निजी क्षेत्र र बिचौलिया फरक कुरा भएको बताउँदै अहिलेको अर्थतन्त्रमा समस्या बिचौलियाका कारणले आएको जिकिर गरेका थिए । मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरूले लाजसरम पचाएर यस्ता आरोपहरू लगाउने गरेको बताए ।

देशमा एमाले र कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता भएको भन्दै उनले स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झुटा आरोप लगाउन थालिएको बताए । ‘झुठा कुराको सहायतामा यस्तो विरोध गरिएको छ कि मानौं, सरकारले केही गरेको छैन । हामीले देश बर्बाद बनाइरहेका छौं, हामीले कुनै अपराध गरिरहेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘आजकल निलो रंगका स्यालहरू निकै हाउभाउ गरिरहेका छन् । तिनीहरूको वास्तविक रूप लामो समय टिक्ने छैन । एमालेले आफूलाई आगामी निर्वाचनमार्फत् निर्णायक राष्ट्रिय शक्तिमा विकसित हुने लक्ष्य राखेको छ । हामी हाम्रा सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुन्छौं ।’
कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरूको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुस भएको ओलीको टिप्पणी छ ।
पार्टीभित्रको राजनीतिक हकमा धेरै आलोचनात्मक चेतमा जोड दिन नपर्ने उल्लेख गर्दै उनले विश्लेषणत्मक चेत राख्न सुझाव दिए ।
‘पार्टीभित्र एकताको चेत चाहिन्छ । विरोधीको आरोपको खण्डन गर्नुपर्छ । विरोधीसँग लड्न नसक्ने अनि पार्टीभित्र आलोचनात्मक चेत बोक्ने बाटो सही बाटो होइन,’ उनले भने ।