अन्नपूर्ण चक्रीय पदमार्ग अन्नपूर्ण क्षेत्रका सुन्दर पहाड लगायत त्यस क्षेत्रको विविध सामाजिक, आर्थिक र सांस्कृतिक पक्षको अवलोकन तथा पद पर्यटनमा रमाउनेका लागि उत्तम गन्तव्य हो।
परम्परागत गाउँघर, गाउँले परिवेशभिन्न संस्कार र संस्कृति, हिउँले ढाकिएका विशाल पर्वत पदयात्राको क्रममा देख्न र अनुभूत गर्न पाइने हुँदा याे पदमार्ग विश्व चर्चित बनेको छ।
पदमार्गअन्तर्गत ६ जिल्ला पर्ने गर्दछन्। बागलुङ, कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दी। मनाङको बेंसीसहरबाट पदयात्रा सुरु गरेर करिब २५ दिनमा कास्कीको पोखरा पुग्न सकिन्छ।
पदमार्गमा अन्नपूर्ण हिमशृङ्खला अन्नपूर्ण पहिलो र चौथो, धौलागिlर, माछापुच्छ्रे, मनास्लु, गंगापूर्ण, हिउचुली, टुकुचे चुचुरो, तिलिचो चुचुरो, पिसाङ चुचुरो, थोरोङ चुचुरो र पाउङ्दा डाँडालगायत ६०००/८००० मिटर उचाइका अन्य धेरै चुचुरा आँखै अगाडि देख्न पाइन्छ।
चक्रीय पदमार्गअन्तर्गत पर्ने थोरोङ लाभञ्ज्याङ (५,४१६ मिटर) अन्नपूर्ण पदयात्रा क्षेत्रको सबैभन्दा लोकप्रिय र सुन्दर भञ्ज्याङमध्ये एक हो। यो मनाङ र मुस्ताङ जिल्लाको बीचमा अवस्थित छ।
पदयात्रा दुवैतर्फबाट सुरु गर्न सकिने भए पनि ८०% भन्दा बढी पदयात्रीले बेंसीसहरबाट सुरु गर्छन्। यद्यपि, कहिलेकाहीं डिसेम्बरदेखि फेब्रुअरीसम्म जाडो मौसममा भारी हिउँ परेमा थोरोङ ला भञ्ज्याङ चुनौतीपूर्ण बन्ने गर्दछ।
विश्व चर्चित पदमार्गमा अहिले सडक निर्माण हुँदा पदयात्रा छोटिएको छ। पहिले बेंसीसहरबाट हिंड्दा पाँचौं दिनमा मनाङ गाउँ पुगिन्थ्यो भने अहिले काठमाडौंबाट सवारी साधनमा हिंडेकै दिन मानिस मनाङ गाउँ पुगेर बास बस्छन्।
त्यस्तै बाग्लुङ–पोखरा सडक खण्डको नयाँपुलबाट यात्रा सुरू भएको पाँचौं दिनमा पदयात्री अन्नपूर्ण बेसक्याम्प पुग्ने गरेकोमा अहिले तीन दिनमै पुग्छन्।
यसरी सडक निर्माण गरी पदमार्ग मास्नाले अन्नपूर्ण चक्रीय पदमार्गको मौलिकता मासिँदै गएको छ जसका कारण यसको विश्वव्यापी लोकप्रियता घट्ने जोखिम बढेको छ। जथाभावी सडक निर्माणको काम रोकी यसलाई पैदलयात्री मैत्री बाटो, सुविधासम्पन्न बसोबास र पर्यटक सुरक्षामा जोड दिनु आवश्यक छ।




















तस्बिरः नेपाल फाेटाे लाइब्रेरी