काठमाडौ। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुक अघिल्लो सरकारले खनेको खाडलमा फसेको बताएका छन्।
आज आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको बजेट राउन्ड टेबल कार्यक्रममा बजेट विनियोजन र कार्यान्वयन खाडल अघिल्लो सरकारले बजेटभन्दा बढी आयोजना ल्याएर खाडल बनाएको बताएका हुन्।
‘बजेट विनियोजन र कार्यान्वयनमा ठूलो खाडल छ, यो हामीले नै खनेको खाडल हो। अघिल्लो सरकारको बजेटमा ७ हजार परियोजना पर्दा ११ हजार थपिपछि कार्यान्वयनमा समस्या भएको हो। अहिलेको अर्थमन्त्री खाडल खन्न होइन, त्यो खाडल पुर्न लागिरहेको छ’, मन्त्री पौडेलले भने।

बजेट प्रणालीलाई मार्गदर्शन गर्ने संविधानले दिएको अधिकारमा सरोकारवाला प्रस्ट नहुँदा समस्या भएको उनको भनाइ छ। संघको बजेट संघले, प्रदेशको प्रदेशले र स्थानीयको स्थानीयले नै निर्माण गर्नुपर्ने उनले औंल्याए।
‘सघीय सरकारले बनाएको बजेट ११ प्रतिशतभन्दा कम संघले गर्छ भने संघले बनाएको बजेट प्रदेशले, स्थानीय तह, उपभोक्ता समूह, आमा समूहले कार्यान्वयन गर्ने धेरै हुन्छन्। सबै संविधानको सीमामा बस्न तयार हुनुपर्यो,’ अर्थमन्त्रीले भने।
अनुमान गरेभन्दा बढी बाहिरबाट दायित्व आउँदा चालू खर्च बढी भएको उनको बताए। सरकार बजेट निर्माण गर्दा कार्यान्वयनको परिस्थिति बुझेर मात्रै गर्ने प्रयासमा रहेकाले प्राथमिकताका आधारमा बजेट विनियोजन हुने अर्थमन्त्री पौडेलले जानकारी दिए।
अनुमान गरेभन्दा बाहिरबाट स्रोत सिर्जना हुँदा चालू खर्च बढ्ने गरेको उनले बताए। यस वर्ष अदालतको आदेश, शिक्षकका माग पूरा गर्दा दायित्व थप भएको उनको भनाइ छ।
संघीय सरकार पुँजी सिर्जना हुने आयोजनामा केन्द्रित हुनुपर्ने भएकाले आगामी बजेटमा ठूला आयोजनामा जोड दिइने अर्थमन्त्रीको धारणा छ।

कार्यक्रममा पूर्वमुख्यसचिव बैकुण्ठ अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य प्रकाश श्रेष्ठले बजेटमा आएका विरोधाभाषको विषय औंल्याएका थिए। सदस्य श्रेष्ठले महत्त्वाकांक्षी बजेट ल्याउँदा कार्यान्वयनमा समस्या हुने, पुँजीगत खर्च कम हुने, वित्तीय संघीयतामा विरोधाभास भएर प्रोजेक्ट बढी थपिने हुँदा समस्या भएको बताए।
उनले संघ, प्रदेश र स्थानीय तहको बजेट मागअनुसार तयारी कम भएकाले बजेट कार्यान्वयनमा समस्या भएको उनको तर्क छ।