काभ्रे। स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्र्तगत साँगा–धुलिखेल सडक खण्डको कालोपत्रे सुरु गरिएको छ। धुलिखेलबाट बनेपातर्फको तीन किलोमिटर सडक आगामी असारभित्र कालोपत्र सम्पन्न गर्ने सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ।
अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडक खण्ड ६ लेनमा विस्तार भइरहेको हो। सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा सडक विस्तार भइरहेकामा साँगा–धुलिखेल खण्ड कालोपत्रे सुरु गरिएको हो। धुलिखेल मुख्यचोकदेखि बनेपातर्फको बाँसघारीसम्म एक किलोमिटर सडक हाल कालोपत्र सुरु गरिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले बताए।
हाल आधुनिक प्रविधिबाट कालोपत्रेको पहिलो तह सकेर दोस्रो तहको काम भइरहेको जनाइएको छ। खनालका अनुसार सडकको मुख्य भागमा ८० सेन्टिमिटरको कालोपत्र हुनेछ।
पहिलो तहमा ३० देखि ३५ समीको ‘सबबेस’, त्यसपछि २० सेमिको ‘सिटिपी’ गरी त्यसमाथि १० सेमिको ‘क्र्याक–रिलिफ लेयर’ हालेर त्यसमाथि ११ देखि १३ सेमिको ‘डिबिएम’ गरी त्यसमाथि ६ सेमिको ‘आस्पाल्ट कंक्रिट लेयर’ गरी जम्मा ८० सेमीको आधुनिक प्रविधिबाट कालोपत्रे भइरहेको हो।
सूर्यविनायक–धुलिखेलसम्म १६ किमि छ। सूर्यविनायक–साँगा ७ दशमलव ५ किमि र साँगा–धुलिखेल ८ दशमलव ५ किमि छ। उक्त दूरीमा ६ लेन सडक विस्तार तीन वर्षमा सम्पन्न गर्ने गरी दुई खण्ड, दुई चरणमा ठेक्का सम्झौता गरिएको थियो। सूर्यविनायक–साँगासम्मको ठेक्का विसं २०७९ मंसिर र साँगा–धुलिखेलसम्मको ठेक्का सम्झौता २०७९ पुसमा गरिएको थियो।
सडक खण्ड दुई सर्भिस लेन र चार मेन लेनसहित ६ लेनको बनाउने ठेक्का सम्झौता छ। इन्जिनियर खनालका अनुसार हालसम्म साँगा–धुलिखेल सडक खण्डको भौतिक प्रगति करिब ५० प्रतिशत सम्पन्न भएको छ। हाल सुरु गरिएको तीन किमि कालोपत्रे असार मसान्तभित्र सकेर करिब ६० प्रतिशत भौतिक प्रगति गर्ने लक्ष्य आयोजनाको छ।
उक्त आयोजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव ४ किमि सडकखण्ड विस्तारका लागि चार अर्ब पाँच करोड ६४ लाख तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडक खण्ड तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो।
साँघुरो सडकका कारण वर्षेनी ट्राफिक जाम बढ्दै गएपछि विस्तार थालिएको हो। चीनसँगको छोटो दूरीको सिन्धुपाल्चोकको तातोपानी नाका खुला भएपछि यस राजमार्गमा सवारी चाप दिनहुँ बढिरहेको छ।
हाल कोटेश्वरबाट यही राजमार्गमा मध्यपहाडी क्षेत्र तथा पूर्वी तराईका लामा दूरीका सवारी मात्र दैनिक दुई हजार ५०० बढी गुड्ने गरेका छन्।–रासस