काठमाडौं। नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरामा १ अर्ब रुपैयाँको प्रारम्भिक लगानीमा अन्तर्राष्ट्रिय स्तरको लक्जरी ‘कन्दरा माउन्टेन वेलनेस रिसोर्ट’ निर्माण भइरहेको छ। उच्च आय भएका विदेशी पर्यटकलाई लक्षित गरी निर्माण भइरहेको यो रिसोर्ट सन २०२७ को मार्चभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
पोखराको प्राकृतिक सौन्दर्य, हिमालको दृश्य र शान्त वातावरणलाई वेलनेस पर्यटनसँग जोड्दै निर्माण भइरहेको रिसोर्टमा एक रात बस्न न्यूनतम ३५० अमेरिकी डलर शुल्क लाग्ने सञ्चालक पवित्रा कुमार कार्कीले जानकारी दिए।
उनका अनुसार हाल रिसोर्टका अधिकांश संरचनाको निर्माण सम्पन्न भइसकेको छ भने कोठाको फिनिसिङ र इन्टेरियरको काम तीव्र गतिमा भइरहेको छ। वेलनेस भवनबाहेक अन्य भौतिक संरचनाको काम लगभग सकिएको र इन्टेरियरको सम्पूर्ण काम आगामी पुससम्म सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए।
रिसोर्टको सबैभन्दा आकर्षक पक्षका रूपमा निर्माण भइरहेको १९ हजार वर्गफिट क्षेत्रफलको वेलनेस भवन रहेको छ। यसको डिजाइन तथा सञ्चालन प्रणालीका लागि भारतीय विशेषज्ञ कम्पनीले परामर्श दिइरहेको छ। सो कम्पनीले अत्याधुनिक प्रविधिमा आधारित थेरापी, योग, ध्यान तथा समग्र स्वास्थ्य प्रवर्द्धन गर्ने सेवा विकास गरिरहेको कार्कीले बताए।
उनका अनुसार रिसोर्ट निर्माणमा गुणस्तरमा कुनै सम्झौता नगरिने नीति अपनाइएको छ। ‘हामी अन्तर्राष्ट्रिय मापदण्डको पूर्ण प्रविधियुक्त वेलनेस रिसोर्ट निर्माण गरिरहेका छौं,’ सञ्चालक कार्कीले भने, ‘गुणस्तरमा कुनै सम्झौता हुँदैन।’
सञ्चालक कार्कीका अनुसार पोखरा अन्नपूर्ण, मर्दी हिमाल तथा अन्य लोकप्रिय पदमार्गको प्रवेशद्वार भएकाले ट्रेकिङपछि आराम गर्न चाहने पर्यटकलाई लक्षित गर्दै रिसोर्टको अवधारणा तयार गरिएको हो।
७० रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा ४० वटा उच्चस्तरीय लक्जरी कोठा रहनेछन्। तीमध्ये वेलनेस सुविधासहितका विशेष स्वीटसमेत समावेश हुनेछन्।

‘प्रत्येक कोठालाई यस्तो ढंगले डिजाइन गरिनेछ कि बाहिरी कोलाहलबाट पूर्ण रूपमा टाढा रहँदै पाहुनाले जंगलको प्राकृतिक शान्त वातावरणको अनुभव गर्न सकून’ सञ्चालक कार्कीले भने ‘रिसोर्टको अवधारणा केवल बसोबासमा सीमित नरही स्वास्थ्य र मानसिक सन्तुलनलाई केन्द्रमा राखिएको छ।’
चराचुरुंगीको चिरबिर, हरियाली जंगल र हिमाली वातावरणबीच योग, ध्यान तथा विभिन्न प्रकारका थेरापी सञ्चालन गरिनेछ। पाहुनाको आवश्यकता अनुसार विशेषज्ञ थेरापिस्टलाई कोठामै पठाउने व्यवस्था हुनेछ भने केही आधुनिक वेलनेस उपकरणसमेत कोठाभित्रै उपलब्ध गराइने उनले बताए।
सञ्चालक कार्कीका अनुसार पोखरा अन्नपूर्ण, मर्दी हिमाल तथा अन्य लोकप्रिय पदमार्गको प्रवेशद्वार भएकाले ट्रेकिङपछि आराम गर्न चाहने पर्यटकलाई लक्षित गर्दै रिसोर्टको अवधारणा तयार गरिएको हो। ‘ट्रेकिङ सकेर आएका पर्यटकले कम्तीमा एक दिन शरीर र मनलाई आराम दिने, थेरापी लिने र पुनः ऊर्जावान बन्ने गन्तव्यका रूपमा यो रिसोर्टलाई विकास गर्न खोजेका हौं,’ उनले भने।
रिसोर्टबाट माछापुच्छ्रे हिमालको मनोरम दृश्यावलोकन गर्न सकिनेछ। थप आकर्षणका रूपमा रिसोर्ट परिसरमै हेलिप्याड निर्माण गरिनेछ। पाहुनाको इच्छाअनुसार हेलिकोप्टर चार्टरमार्फत मर्दी हिमाल, अन्नपूर्ण हिमशृंखला तथा आसपासका हिमाली क्षेत्रमा अवलोकन उडानको सुविधा पनि उपलब्ध गराइने योजना रहेको छ।
रिसोर्ट विशेषगरी खर्च गर्न सक्ने उच्चस्तरीय विदेशी पर्यटकलाई लक्षित गरेर निर्माण भइरहेको छ। विशेष रूपमा चिनियाँ पर्यटकलाई मुख्य बजारका रूपमा हेरिएको सञ्चालक कार्की बताउँछन्। पछिल्ला वर्षमा पोखरामा चिनियाँ पर्यटक आगमन बढ्दै गएको र उनीहरूको रोजाइअनुसार लक्जरी वेलनेस सेवा उपलब्ध गराउने उद्देश्यले परियोजना अघि बढाइएको उनको भनाइ छ।
‘कन्दरा माउन्टेन रिसोर्ट प्रालि’मार्फत निर्माण भइरहेको परियोजनामा सञ्चालक पवित्रा कुमार कार्की र एयर डाइनेस्टी सञ्चालक अनिल रावलको संयुक्त लगानी रहेको छ। प्रारम्भिक लगानी करिब १ अर्ब रुपैयाँ भए पनि निर्माण सम्पन्न हुँदासम्म लागत केही बढ्न सक्ने अनुमान गरिएको छ। एयर डाइनेस्टीमा कार्की पनि साझेदार हुन्।
कार्कीले हाल झापामा पाँचतारे होटल मेचीक्राउन, एयरडाइनेस्टी, डाफे ट्राभल, विभिन्न जलविद्युत् परियोजनामा लगानी विस्तार गरिरहेका छन्।