काठमाडौं। राइड सेरिङ प्लेटफर्म ट्याक्सीमाण्डु र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय राइड सेरिङ एप यांगोबीच सहकार्य भएको छ। सहकार्यमार्फत यांगो एप अब नेपाली प्रयोगकर्ताले पनि सहज रूपमा उपयोग गर्न सक्नेछन्।
यांगो हाल विश्वका ३० बढी मुलुकमा सञ्चालनमा छ भने नेपालमा ट्याक्सीमाण्डुको आधिकारिक स्थानीय साझेदारको रूपमा प्रवेश गरेको हो।
ट्याक्सीमाण्डुका प्रबन्ध निर्देशक अर्जुन केसीले नेपालका यात्रु र चालकलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधि र अनुभव दिन यांगो एप भित्र्याइएको बताए। टेक्नोलोजीमैत्री, पारदर्शी र सस्तो सेवाले यो सहकार्य देशभरका यात्रुका लागि गेम चेन्जर बन्ने उनको दाबी छ।
राइड ४० रुपैयाँदेखि, आकर्षक बोनस योजना पनि
मंगलबारदेखि सफ्ट लन्च गरिएको यांगोएपमार्फत बाइक राइड न्यूनतम ४० रुपैयाँ र ट्याक्सी राइड १८० रुपैयाँबाट सुरु हुनेछ। सुरुका दिनमा चालक र यात्रु दुवैका लागि बोनस योजना पनि लागू गरिएको कम्पनीले जनाएको छ।
सेवा सञ्चालनको तीन वर्षसम्म ३ प्रतिशतभन्दा बढी कमिसन नलिने घोषणा कम्पनीले गरेको छ। यसले आफ्नै सवारी नभई स्थानीय चालक र ट्याक्सी व्यवसायीलाई प्रविधिमार्फत यात्रुसँग जोड्ने यांगो प्रमुख व्यापार अधिकृत अदेनियी अदेबायोले बताए।
सुरक्षा र पारदर्शिता मा प्राथमिकता
यात्रु र चालक दुवैको सुरक्षा सुनिश्चित गर्न यांगो एपमा २० भन्दा बढी सुरक्षा फिचर समावेश गरिएको छ। एपमार्फत यात्राको गन्तव्यअनुसार स्वचालित रूपमा अनुमानित भाडा देखिनेछ र हाललाई नगद भुक्तानीको व्यवस्था गरिएको छ। निकट भविष्यमा अनलाइन भुक्तानी प्रणाली पनि थपिनेछ।
यांगो विश्वव्यापी प्रविधि कम्पनी हो, जसले अफ्रिका, ल्याटिन अमेरिका, युरोप, दक्षिण एसियालगायतका क्षेत्रमा राइड, डेलिभरी, फुडटेक तथा डिजिटल सेवा दिँदै आएको छ।
यांगो सेवाको सहज पहुँचका लागि हाल १० बढी एजेन्सीमार्फत बजारमा सेवा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।