काठमाडौं। टेक एन्ड पे पीपीए प्रावधानप्रति निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहले आपत्ति जनाएका छन्। नेपाल पूर्वाधार पत्रकार समाजले आयोजना गरेको ‘बजेटमा टेक एन्ड पे पीपीएको व्यवस्था र जलविद्युतमा पार्ने असर’ विषयक छलफलमा अध्यक्ष सिंहले आपत्ति जनाएका हुन्।
‘नेपालमा लगानी आवश्यकता हुँदा पनि स्वदेशी लगानीकर्ता निरुत्साहित गर्ने गरी टेक एन्ड पे प्रावधानप्रति खेद गर्दछु,’ उनले भने, ‘भारतमा १० हजार मेगावाट, बंगलादेशलाई ५ हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौता गरेका छौं। १५ हजार मेगावाटको बजार हुँदाहुँदै किन लगानीकर्तालाई निरुत्साहित गरियो?’
टेक अर पे पीपीए प्रावधानले लगानी वातावरण सिर्जना गरेको र विद्युत् लगानीकर्ताले निमार्ण उद्योगलाई सबैभन्दा बढी टेवा दिएको उनको भनाइ छ। ‘हाम्रो उत्पादनको ६० प्रतिशत मात्रै बजार छ। यसमा विद्युत् लगानीकर्ताले सबैभन्दा बढी खपत गरेका छन्,’ उनले भने।
नेपाललाई विकास गर्न वार्षिक २० खर्ब रुपैयाँ पूर्वाधारमा खर्च गर्नुपर्ने देखिएकाले त्यसमा सबैभन्दा बढी खर्च विद्युत् क्षेत्रमा अवसर रहेको दाबी सिंहले गरे।
‘टेक एन्ड पे पीपीए व्यवस्थालाई खारेज गर्न एकताबद्ध हुनुपर्ने उनले बताए। ‘लगानीकर्ता सेटल हुने समय दिने गरी सरकारले व्यवस्था ल्याउनुपर्छ,’ उनले भने, ‘कानुन बाझिएका छन्, लगानी वातावरण छैन। यस्ता अन्योल चिर्न संगठित रुपमा लाग्नुपर्छ।’