काठमाडौं। सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले असार लागेसँगै नेपालले दैनिक न्यूनतम साढे १० करोड बराबरको विद्युत् निर्यात भइरहेको बताइरहेका बेला स्वदेशी ग्राहकलाई भने बत्ती गए ११५० नम्बर फोन गर्न सूचना जारी गरेको छ।
मनसुन सक्रिय भएर पानी बर्सिन थालेपछि आयोजनमा जल प्रवाह बढेसँगै विद्युत् निर्यातको ग्राफ उकालो लागेको विद्युत् प्राधिकरणले जनाएको छ। देशभित्र खपत भएर बाँकी विद्युत् निर्यात गर्दा दैनिक १० करोड रुपैयाँको कारोबार भइरहेको प्राधिकरणले बताएको छ।
तर, प्राधिकरणले बत्ती गए फोन गर्न सातै प्रदेश र उपत्यकामा समेत गरी आठ ठाउँमा कल सेन्टर स्थापना गरिएको सूचना निकालेको छ।
कल सेन्टरमा बत्ती किन गयो?, कतिबेला आउछ? के कारणले गएको हो? भन्ने जानकारी उपभोक्तालाई दिइने प्राधिकरणको दाबी छ। एकातिर बढी भएको बिजुली विदेश निर्यात गरिरहेको प्राधिकरणको दाबी छ भने स्वदेशी ग्राहकलाई भने कल सेन्टरमा फोन सूचना नै निकालेको छ।
सेवाग्राहीले ११५० नम्बरमा डायल गर्नुपर्छ। त्यसपछि प्रणालीले ग्राहकलाई कुन प्रदेशका लागि गुनासो दर्ता गर्ने हो सोही प्रदेशको कोड नम्बर थिच्न प्राधिकरणले आग्रह गरेको छ। बचत बिजुली बेचेको भए बत्ती गए कल सेन्टरमा फोन गर्नुपर्ने सूचना प्राधिकरणले निकालेर उपभोक्तालाई अन्योलमा पारेको देखिएको छ।
प्राधिकरणका अनुसार असार १ देखि नेपालले बंगलादेशमा दैनिक ४० मेगावाट, भारतको विहार राज्यमा १२५ मेगावाट र हरियाणा राज्यमा दुई सय मेगावाट विद्युत् नियमित निर्यात गर्दै आएको छ। यसबाहेक दैनिक बोलकबोलमार्फत इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स) मा विद्युत् निर्यात हुने गरेको छ।
लोड डिस्प्याच सेन्टरको पछिल्लो तथ्यांकनुसार गएको शनिबार मात्रै नेपालबाट २४ घन्टामा १५ हजार ९१८ मेगावाट विद्युत् निर्यात हुँदा १० करोड ७१ लाख रुपियाँ आम्दानी भएको छ । यो आँकडा बंगलादेश निर्यातसमेतको रहेको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी गराए।
उनले भने, ‘आगामी दिनमा विद्युत् उत्पादन र खपत अवस्थाअनुसार निर्यात अझै बढ्दै जाने सम्भावना छ। बंगलादेशमा प्रतियुनिट ६.४ अमेरिकी सेन्टमा विद्युत् निर्यात भइरहेको छ।’
विहारको निर्यातमा नेपालको विद्युत्बाट प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा मूल्य प्राप्त भइरहेको छ भने उत्तरप्रदेशको दर पनि सोही हाराहारी छ। नेपालले बंगलादेशमा पाँच महिनामा ४० मेगावाटका दरले विद्युत् निर्यात गर्दा १ अर्ब २५ करोड प्राप्त गर्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले उपभोग गरेर बाँकी रहेको बिजुली बेचिरहेको दाबी गरिरहँदा औद्योगिक क्षेत्रमा अहिले पनि अघोषित लोडसेडिङ भएको भन्दै वीरगञ्ज उद्योग वाणिज्य संघले दुई दिनअघि विज्ञप्ति नै निकालेको थियो।
‘उपभोक्ताले उपभोग गरेर बचत भएको बिजुली निर्यात गर्न थालिएकाले लोडसेडिङ कहीँकतै छैन। देशभित्रको उत्पादन आन्तरिक माग धान्ने मात्र नभई भारत र बंगलादेशमा बेच्न थालिएपछि लोडसेडिङ छैन। प्राविधिक गडबडीले बिजुली गएको हुन सक्छ,’ प्राधिकरणका प्रवक्ता राजन ढकालले भने।