काठमाडौं। बागमती प्रदेश सरकारले सवारीसाधनको सरुवा सहमति शुल्क र अस्थायी दर्ता शुल्क बढाएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट कार्यान्वयनका लागि जारी गरेको आर्थिक विधेयक, २०८२ मार्फत सवारीसाधन सरुवा शुल्क र अस्थायी दर्ता शुल्क बढाएको हो।
आर्थिक विधेयकमार्फत सवारी सरुवा सहमति शुल्क, अस्थायी दर्ता शुल्क बढाएको प्रदेशले वार्षिक सवारी कर भने यथावत राखेको छ। यी थपघट भएका शुल्क साउन १ गतेदेखि बागमती प्रदेशमा लागू हुनेछ।
बागमतीले सवारी सरुवा शुल्क सवारीसाधनअनुसार ५०० रुपैयाँसम्म बढाएको हो। हाल ठूला सवारीको सरुवा शुल्क २ हजार, मझौला सवारी १ हजार ५००, कार, जिप, भ्यान, टेम्पोले १ हजार र मोटरसाइकल तथा स्कुटरले ५०० रुपैयाँ छ।
आर्थिक विधेयक २०८२ अनुसार अब सवारी सरुवा सहमति लिन ठूला सवारी २ हजार ५००, मझौला सवारी २ हजार, कार, जीप, भ्यान, पिकअप, टेम्पो १ हजार ५०० र मोटरसाइकल तथा स्कुटरले १ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
आर्थिक विधेयक २०८२ अनुसार अब सवारी सरुवा सहमति लिन ठूला सवारी २ हजार ५००, मझौला सवारी २ हजार, कार, जीप, भ्यान, पिकअप, टेम्पो १ हजार ५०० र मोटरसाइकल तथा स्कुटरले १ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
बागमतीमा कति तिर्नुपर्छ वार्षिक सवारी कर
आइसिई इन्जिन सेग्मेन्टमा निजीतर्फ कार, जीप र भ्यानमा १००० सीसीसम्म वार्षिक २२ हजार, १००० देखि १५०० सीसीसम्म वार्षिक २५ हजार, १५०० देखि २००० सीसीसम्म वार्षिक २७ हजार, २००० देखि २५०० सय सीसीसम्म वार्षिक ३७ हजार र २५०० देखि ३००० सीसीसम्म वार्षिक ५० हजार तिर्नुपर्नेछ।
त्यस्तै, ३००० देखि ३५०० सीसीसम्म वार्षिक ६५ हजार, ३५०० सीसीभन्दा माथि सबैको वार्षिक ७० हजार, मेसिनरी उपकरण वार्षिक ४० हजार, टिपरको वार्षिक ३९ हजार र मिनीटिपरको वार्षिक ३३ हजार रुपैयाँ कर लाग्नेछ।
विद्युतीय सवारी कर
निजी विद्युतीयतर्फ ५० किलोवाटसम्म मोटर पावर भएकालाई ५ हजार, ५० देखि १२५ किलोवाट मोटर पावर भएकालाई १५ हजार, १२५ देखि २०० किलोवाट मोटर पावर भएकालाई २० हजार, २०० किलोवाट मोटर पावरभन्दा माथिकालाई ३० हजार रुपैयाँ कर लाग्नेछ।
भाडामा दर्ता विद्युतीय कार, जीप, भ्यान र माइक्रो बसको वार्षिक कर
भाडामा दर्ता भएका विद्युतीय कार, जीप भ्यान र माइक्रोबसको लागि २० किलोवाटदेखि ५० किलोवाट मोटर पावर भएकालाई ३ हजार, ५० देखि १२५ किलोवाट मोटर पावर भएकालाई ५ हजार, १२५ देखि २०० किलोवाट मोटर पावर भएकालाई १० हजार र २०० किलोवाटभन्दा माथि मोटर पावर भएकालाई १५ हजार रुपैयाँ वार्षिक कर लाग्नेछ।
भाडामा दर्ता आईसीई इन्जिन कार, जीप, भ्यान र माइक्रोबस
भाडामा दर्ता भएको आईसीई इन्जिन सेग्मेन्टका कार, जीप, भ्यान र माइक्रोबसमा १००० सीसीसम्मका लागि ११ हजार, १५०० सीसीसम्मको १२ हजार ५००, १५०० देखि २००० सीसीसम्मको १३ हजार ५००, २००० देखि २५०० सीसीसम्मको १४ हजार ५००, २५०० सयदेखि ३००० सीसीसम्मको १६ हजार ५००, ३००० देखि ३५०० सीसीसम्मको १७ हजार ५००, ३५०० देखि ४००० सीसीसम्मको १९ हजार र ४००० सीसीभन्दा माथि सबैका लागि २२ हजार रुपैयाँ लाग्नेछ।
मोटरसाइकल तथा स्कुटर
१२५ सीसीसम्मको मोटरसाइकल तथा स्कुटरको लागि ३ हजार, १२५ देखि १५० सीसीसम्मको ५ हजार, १५० देखि २२५ सीसीसम्मको ५ हजार ५००, २२५ देखि ४०० सीसीसम्मको १२ हजार र ४०० देखि ६५० सीसीसम्मको २५ हजार र ६५० सीसीभन्दा माथि सबैको ३५ हजार रुपैयाँ लाग्नेछ।