काठमाडौं। हुम्ला राष्ट्रिय सडक सन्जालसँग जोडिएको छ। ७७ मध्ये हुम्ला मात्रै राष्ट्रिय सन्जालसँग जोडिएको थिएन। चुवाखोला–कर्णाली नदीमाथि बेलीब्रिज बनेसँगै हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सन्जालसँग जोडिएको हो।
राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर २०५६ मा शिलान्यास भएको थियो। नेपालगन्ज–जमुनाहा नाकादेखि उत्तरी हुम्लाको चीन–नेपाल हिल्सा नाका जोड्ने यो करिडोर ६८२ किलोमिटर लामो छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट हुँदै उत्तरी नाका हिल्सा जोड्ने लक्ष्यका साथ कर्णाली करिडोरको शिलान्यास भएको थियो।
नेपाली सेनाले खार्पुनाथ गाउँपालिका–५, खार्पु हुँदै बग्ने चुवाखोला–कर्णाली नदीमाथि निर्माण गरेको बेलीब्रिजको उद्घाटन असार २१ मा हुने बताएको छ।
अहिले ठूला ट्रक र टिपरसहितका सवारीसाधन नियमित वारपार हुँदै आएका छन्। नेपालगन्ज, सुर्खेतदेखि सदरमुकाम सिमकोटमा गाडी सञ्चालनमा आएपछि व्यवसायीलाई सहज भएको छ भने स्थानीयले सस्तो मूल्यमा खरिद गर्न सकेका छन्।
कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि हिल्सा नाका पुग्न ४१० किलोमिटरको यो सडक निर्माणको जिम्मा सुरुदेखि २०६६ सम्म सडक विभाग आफैँले लिएको थियो ।
नेपाली सेनाले बनाएबाहेक हिल्सा–सिमकोट खण्डको १४५ किलोमिटर ट्र्याक खोल्न र चार वटा पुल निर्माण गर्न आर्थिक वर्ष २०६९/७० देखि आव २०७९/८० सम्मको लागत चार अर्ब १० करोड रुपैयाँ रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रगति प्रतिवेदनमा उल्लेख छ।