काठमाडौं। राष्ट्रिय प्रसारण ग्रीड कम्पनी र पाँचवटा प्रमुख जलविद्युत् प्रवर्द्धक कम्पनीबीच ग्रीड कनेक्सनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रमुख आतिथ्यमा सम्झौतामा हस्ताक्षर गरिएको हो।
सम्झौतामा राष्ट्रिय ग्रीड प्रसारण कम्पनीका प्रमुख कार्यकारी अधिकृत ई. सागर श्रेष्ठ र विभिन्न जलविद्युत् प्रवद्र्धक कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरे। पाँच कम्पनीमा एससी पावर कम्पनी, सुर्मा सरोवर हाइड्रोपावर, माता मालिका इनर्जी मल्टिपल, सूर्य होल्डिङ प्रालि र हिमजल हाइड्रोपावर रहेका छन्।
उक्त अवसरमा मन्त्री खड्काले सम्झौतासँग सम्बन्धित विद्युत् क्षेत्रको महत्त्व र निजी क्षेत्रको भूमिकाबारे धारणा राखे। ऊर्जासचिव सुरेश आचार्य, विद्युत् नियमन आयोग अध्यक्ष डा. रामप्रसाद धिताल र जलविद्युत कम्पनीको प्रतिनिधित्व गर्ने इमानसिंह गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए।
एससी पावर कम्पनीद्वारा प्रवर्द्धन गरिएको तिला–१ जलविद्युत् आयोजना (४४० मेगावाट, कालीकोट), सुर्मा सरोवर हाइड्रोपावरद्वारा महाकाली सेती अर्धजलाशययुक्त जलविद्युत् आयोजना (५४ मेगावाट, बझाङ), माता मालिका इनर्जी मल्टिपलद्वारा मालुमेला सेती नदी पिकिङ हाइड्रोपावर आयोजना (७२ मेगावाट, बझाङ), सूर्य होल्डिङद्वारा अपरमेवा खोला ए हाइड्रोपावर आयोजना (३१.९२ मेगावाट, ताप्लेजुङ) र हिमजल हाइड्रोपावरद्वारा सुपर दरौदी हाइड्रोपावर प्रोजेक्ट (९.१४३ मेगावाट, गोरखा) जलविद्युत् प्रवर्द्धक कम्पनीसँग राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
मन्त्री खड्काले अब आगामी दिनमा ऊर्जा क्षेत्रमा नयाँ कार्यनीति र लगानी वातावरण सिर्जना गर्न सरकारी र निजी क्षेत्रको सहकार्यमा काम गर्नुपर्ने आवश्यकता औंल्याए।