काठमाडौं। सरकारले आगामी आर्थिक वर्षभित्र २०० झोलुंगे र ४० वटा नयाँ सडक पुल निर्माण गर्ने योजना अगाडि सारेको छ। सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३) मा ४० नयाँ पुल, ३० वटा मर्मत, २०० झोलुंगे पुल निर्माण र १०० वटा मर्मत गरिने पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद मैनालीले २४९ वटा सिँचाइ आयोजना सम्पन्न भई ३ हजार ७ सय हेक्टर जमिन सिञ्चित हुने जानकारी दिए।
यस्तै, आगामी वर्ष १०० किलोमिटर सडक निर्माण, ३०० किलोमिटर सडक कालोपत्रे र ६० वटा स्थानीय प्रशासकीय भवन निर्माण गरिनेछन्।
उपत्यकाका नदी, खोला करिडोरमा १० किलोमिटर सडक स्तरोन्नति, विभिन्न २६ स्थानमा सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माण, उपत्यकाका ४ स्थान जितपुरफेदी, डुकुछाप, इशान नयाँ सहर, ताथवी चलावुमा जग्गा एकीकरणको भौतिक विकास योजना स्वीकृति भई जग्गा विकास कार्य सुरु गर्ने, सार्वजनिक जग्गा अतिक्रमण रोक्ने र अवैध संरचना हटाउने कार्यलाई प्राथमिकता दिने लक्ष्य सरकारले लिएको उनले बताए।
यस्तै, सहरी विकास र युवा तथा खेलकुद मन्त्रालयको भवन निर्माण सुरु गर्ने, अति विशिष्ट पदाधिकारीको आवास निर्माणअन्तर्गत सभामुख आवास निर्माण र प्रधानन्यायाधीश आवास निर्माण सुरु गरिने मैनालीले जानकारी दिए। मन्त्रालयले भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्लथ तथा मनोरञ्जन पार्क निर्माण कार्य अघि बढाउने बताएको छ।
बागमती, विष्णुमती, मनोहरा र नख्खु खोलामा २०८१ को बाढीबाट क्षतिग्रस्त संरचना पुनः निर्माण अघि बढाउने, ऐतिहासिक मठमन्दिर र पाटीपौवा पुनः निर्माण तथा जीर्णोद्धार, मर्मत सुधार गर्ने एवं उपत्यकाका नदी, खोलाको सफाइ अघि बढाउने लक्ष्य सरकारको छ।