काठमाडौं। २०७५ माघ ४ मा सम्झौता भएर २०७९ मा निर्माण सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको नारायणगढ–बुटवल सडक निर्माणको भौतिक प्रगति हालसम्म ६९ प्रतिशत मात्रै पुगेको छ।
तेस्रो पटक थपिएको म्याद सकिनै लाग्दा निर्माणको भौतिक प्रगति ६९ प्रतिशत पुगेको नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताएका हुन्।
निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ सम्म दोस्रो पटक म्याद थप भएको थियो। त्यतिबेला पनि निर्माणले गति नलिएपछि सरकारले गत साउनमा २०८२ साउन ८ सम्म तेस्रो पटक म्याद थपेको थियो। तेस्रोपटक म्याद थपिएपछि सकिनै लाग्दा हालसम्म ६९ प्रतिशत काम भएको हो।
सूचना अधिकारी खनालका अनुसार चौथोपटक म्याद थपको प्रक्रिया अघि बढाइएको छ। नारायणगढ–बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो। निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले ५७६ दिन थप म्याद थपका लागि माग गरे पनि एक वर्षका लागि मात्र म्याद थप्ने तयारी भएको सूचना अधिकारी खनालले जानकारी दिए।
हालसम्म नारायणगढदेखि दुम्किबाससम्मको खण्डमा एकतर्फी ५५ किलोमिटर कालोपत्रे भएको छ। चोरमारा बजार, अरुणखोला र दुम्कीबास बजारको केही भाग मात्र कालोपत्रे गर्न बाँकी रहेको सूचना अधिकारी खनालले बताए।
डाइभर्सनका दुःख हट्ने
नारायगण–बुटवल सडक खण्डअन्तर्गत दुम्कीबासको विनयी खोलामा रहेको पुल भाँचिएपछि डाइभर्सनबाट यातायात सञ्चालन गरिँदै आएको छ। गत पुसमा पुल भाँचिएपछि डाइभर्सनबाट यातायात वारपार गराइँदै आइएको छ। पटक–पटक वर्षासँगै आएको बाढीका कारण डाइभर्सन बगाउँदा चालक तथा यात्रुले सास्ती खेप्दै आएका छन्।
आयोजनाले भाँचिएको पुल छेउमा नयाँ पुल निर्माण गरेको छ। उक्त पुल अब दुई तीन दिनमा सञ्चालन गरिने सूचना अधिकारी खनालले बताए। पुलमा मौसमले साथ दिएमा बुधबार कालोपत्र गरिने र ढिलोमा आउँदो शनिबार सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ ।
दाउन्नेमा यातायात सहज बनाउन मर्मत गरिने
नारायगण–बुटवल सडक खण्डअन्तर्गत दाउन्ने खण्डमा यातायात सहज बनाउन अबको काम केन्द्रित रहने आयोजनाका सूचना अधिकारी खनालले बताए। पानी पर्नेबित्तिकै दाउन्ने खण्डमा यातायात सञ्चालनमा समस्या हुँदै आएको छ। दाउन्ने खण्डमा अब निर्माणको काम रोकेर मर्मतको काम मात्र गरिने सूचना अधिकारी खनालले जनाए।
एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार लागत रहेको छ। ११३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६÷६ मिटरको सर्भिस लेन हुनेछ। दाउन्नेमा १४ किलोमिटर तीन लेनको सडक हुनेछ।–रासस