काठमाडौं। अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)अन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने अमेरिकी निर्णयको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)ले स्वागत गरेको छ।
एमसीए–नेपालले अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुटअन्तर्गत एमसीसी कार्यान्वयनलाई निरन्तरता दिन अमेरिकी सरकारबाट भएको उक्त निर्णयको स्वागत गरेको हो।
एमसीए–नेपालले २९७ किमि विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मतलगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्नेसहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न एमसीसीसँग निकटतापूर्वक काम गरिरहेको जनाएको छ।
एमसीए–नेपालले वैदेशिक सहयोगसम्बन्धी समीक्षा थालनी हुनुपूर्व नै अगाडि बढिसकेका तीनवटा सबस्टेसन एवं १८ किमि सीमापार प्रसारण लाइन निर्माणसम्बन्धी कार्यलाई निरन्तरता दिइरहेको छ।
उसले नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासमा महत्त्वपूर्ण प्रभाव पार्ने यी पूर्वाधार आयोजना सम्पन्न गर्न प्रतिबद्ध रहेको जनाएको छ। कम्प्याक्ट कार्यान्वयनका लागि एमसीसीको निरन्तर साझेदारीका लागि एमसीए–नेपालले आभार प्रकट गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि जिम्मेवारी सम्हालेपछि अमेरिकी सहायताका परियोजना रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। त्यसपछि एमसीसीलाई ९० दिनको पुनर्मूल्यांकन समय राखेर त्यसअन्तर्गतका कार्यक्रम स्थगित गर्न भनिएको थियो।
चैत ८ मा एमसीसीअन्तर्गतका सबै काम रोक्न नपर्ने गरी अमेरिकी सरकारले पत्र पठाएको थियो। एमसीसीमा अमेरिकी सरकारले ५० करोड अमेरिकी डलर अनुदान उपलब्ध गराउने गरेको छ। यस्तो अनुदान नेपालको विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मतमा खर्च गर्ने उल्लेख छ।
एमसीसीबाट प्राप्त हुने ५० करोड डलरमध्ये ३९ करोड ८० लाख डलर विद्युत् प्रसारण लाइन निर्माणमा खर्च गर्ने योजना थियो। यसअन्तर्गत ठेक्का प्रक्रियासमेत लागिसकेको छ।
एमसीसीको ५ करोड २० लाख डलरले पूर्वपश्चिम राजमार्गको धानखोला, भालुवाङ हुँदै लमहीदेखि शिवखोलासम्मको सडक स्तरोन्नति गरिने योजना थियो।