काठमाडौं। रसुवामा आएको बाढीले चारवटा प्रमुख जलविद्युत् आयोजनामा गम्भीर क्षति पुर्याएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण करिब २०० मेगावाट विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना, चिलिमे, त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ आयोजनाबाट उत्पादन ठप्प भएको हो।
बाढीले रसुवागढीको हेडवर्क्स क्षतिग्रस्त बनाएको छ भने त्रिशूली–३ ‘ए’को तीनवटा हेडवर्क्स बगाएको छ। चिलिमे आयोजनाको टेलरेसमा पानी पसे पनि प्रमुख संरचनामा क्षति नगरेको बताइएको छ। तर, त्रिशूली–३ ‘बी’ को हब सबस्टेसनमा पानी पस्दा सञ्चालन अवरुद्ध भएको हो।
यी आयोजनाबाट क्रमशः २२, ६० र ३७ मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार बाढीले त्रिशूली करिडोरको प्रसारण लाइनमा रहेका बाइपास टावरहरू समेत बगाएको छ, जसले थप समस्या थपिएको छ।
यसैबीच, चिलिमे जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत बाबुराजा महर्जनले भोटेकोसीमा आएको बाढीले आयोजनाहरूका संरचनामा गम्भीर क्षति पुर्याएको जानकारी दिए। मंगलबार बिहान तिब्बततर्फबाट आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगाएको छ।
रसुवा भन्सार यार्डमा राखिएका सयौं सवारी साधन बगाइसकेको छ। कम्तीमा १८ जना सम्पर्कविहीन छन्, जसमा ३ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ९ जना नेपाली रहेका छन्। सरकारले प्रभावित क्षेत्रमा तत्काल उद्धार सुरु गरेको छ भने क्षतिको मूल्यांकन र जलविद्युत् उत्पादन पुनःसञ्चालनको तयारीमा प्राविधिक टोली खटाइएको प्राधिकरणले जनाएको छ।