काठमाडौं। लामो समयदेखि (युनाइटेड अरब इमिरेट्स) युएई बस्दै आएका प्रवास सुवेदी पाएसम्म नेपाली उत्पादन खोज्छन्। स्थानीय उत्पादनसँग उनको सामिप्यता र फरक गुणस्तर उनका लागि प्रिय छ। तर, उनी दुबईका स्टोरमा स्वदेशी उत्पादन पाउँदैनन्।
केही दिनअघि उनले दुबईको एक स्टोरबाट २५ दिराम (नेपाली एक हजार रुपैयाँ) तिरेर एक केजी आलु किने। उनले भारत, इजिप्टलगायतबाट दुबई जाने आलुभन्दा नेपाली उत्पादनको स्वाद छुट्टै हुने भएकाले महंगो मूल्य तिरेर स्वदेशी वस्तु किनेका थिए।
तर, नेपालबाट व्यावसायिक रुपमा आलु निकासी भएको छैन। नेपाल आउँदा आलु लिएर जानेले स्टोरमा बिक्रीका लागि राखेका थिए। त्यही आलु सुवेदीले किनेका हुन्।
त्यसबाहेक सुवेदी नेपाली उत्पादन खोजी-खोजी किन्छन्। छिटफुट रुपमा नेपालबाट चाउचाउ पनि जान्छ। खासगरी, वाइवाइ र करेन्ट दुबईमा पाइन्छ। तर, व्यावसायिक रुपमा जाँदैन। दुई चार कार्टुन जाँदा त्यसको लागत बढी पर्ने र महंगो हुने हुँदा सबैले किन्न सक्दैनन्।
यदि, सरकारले बलियो क्वारेन्टाइन बनाएर गुणस्तरमा सम्झौता नगर्ने हो भने नेपाली कृषि उत्पादनको बजार अथाह भएको उनको भनाइ छ। ‘यहाँ पाउने कृषि उपजको स्वाद नेपाली उत्पादनसँग मिल्दैन्। यहाँका अरबीहरुको प्रमुख रोजाईमा नेपाली उत्पादन पर्न सक्छ। तर, त्यतातिर कसैले ध्यान दिएको देखिँदैन,’ उनले भने।
वैदेशिक रोजगार विभागका अनुसार गएको असारसम्म नेपालबाट दुबई काम गर्न जाने नेपालीको संख्या ६ लाख ५० हजार नाघिसकेको छ। त्यो भनेको धेरै ठूलो जनसंख्या हो।
विगत २० वर्षदेखि दुबईका विभिन्न स्टोरमा त्यहीको उत्पादन बिक्री गर्दै आएका बद्री रानाभाट नेपाली उत्पादनको दुबईमा अथाह माग भए पनि कसैले ध्यान दिन नसकेको बताउँछन्। ‘यहाँ, संसारका कयौँ देशबाट कृषि उपज आउँछन्। तर, ती उपजहरुको स्वाद नेपाली उत्पादनसँग मिल्दो जुल्दो छैन,’ उनी थप्छन्।

वैदेशिक रोजगार विभागका अनुसार गएको असारसम्म नेपालबाट दुबई काम गर्न जाने नेपालीको संख्या ६ लाख ५० हजार नाघिसकेको छ। त्यो भनेको धेरै ठूलो जनसंख्या हो। ती व्यक्तिहरूलाई नेपाली उत्पादनसँग अधिक लगाव हुनुका साथै आफ्नै उत्पादनको स्वादसमेत छ। त्यसैले नेपाली कृषि उपजका लागि दुबई ठूलो बजार हुन सक्ने रानाभाटको भनाइ छ।
‘म हरेक दिन दुबईका ठूला तथा साना महलमा सामान बेच्छु। यहाँ पाइने तरकारी र फलफूलको कुनै स्वाद हुँदैन। जति नेपाली फलमा हुन्छ। यदि, कसैले प्रयत्न गर्ने हो भने दुबई ठूलो बजार हुन सक्छ,’ उनले क्यापिटल नेपालसँग भने, ‘करिब ७ लाख नेपाली काम गर्नु भनेको उनीहरूले खाने वस्तु पनि सोही मात्रामा खतप हुनु हो। जसमा ५ लाख नेपालीको रोजाईमा मात्रै नेपाली उत्पादन पर्न सक्यो भने बजार विस्तारमा केही समस्या हुँदैन।’
दुबईमा लामो समयदेखि ट्रभल्स एजेन्सी चलाउँदै आएका शिशिर योगीका अनुसार खास गरी युएईमा अचार, चाउचाउ, आलु, चामल, भटमासको मस्यौरा, गुन्द्रुकलगायत वस्तुको उच्च माग छ। दुबई काम गर्न आउने हरेक नेपालीले यी वस्तुको स्वाद नेपालमा राम्रोसँग चाखेका हुन्छन्, ती वस्तुहरु निरन्तर सम्झनामा आउने भएकाले नेपाली उत्पादनको माग बढेको उनको भनाइ छ।
दुबईमा सामान ल्याउन पहिला नेपाल सरकारले दुबई सरकारलाई क्वारेन्टाइनबारे विश्वास दिलाउन सक्नुपर्छ। उनीहरू गुणस्तरमा सम्झौता गर्दैनन्। अन्य छिमेकी मुलुकले यही विश्वास दिएर दुबईलाई ठूलो बजार बनाएका छन्। नेपाल सरकारले दुबई सरकारसँग औपचारिक रुपमा कुरा गरेर काम गर्न सके नेपाली उत्पादन दुबई ल्याउन सकिन्छ।
दुबई नगरपालिका र युएईको जलवायु परिवर्तन तथा वातावरण मन्त्रालयका अनुसार तरकारी आयात गर्न चाहने व्यापारीले पहिले आयात अनुमति पत्र लिनु पर्छ।
खासगरी, हिमाली तथा मध्य पहाडी जिल्लामा फल्ने हरेक वस्तुको स्वाद नयाँ र नौलो हुन्छ। लामो समय लगाएर फल्ने वस्तुको स्वादका अघि मरुभूमिका उत्पादन फिक्का लाग्छन्। उनका अनुसार, दुबईमा अरबीले नखाए पनि नेपाली आफैले प्रयोग गर्दा समेत ठूलो परिमाणमा नेपाली कृषि उत्पादन खपत हुन सक्छ ।
आयात अनुमति लिनुपूर्व पूरा गर्नुपर्ने प्राबधान
दुबईको व्यापारिक केन्द्रमा तरकारी आयात गर्ने प्रक्रिया छ। सरकारले खाद्य सुरक्षा र गुणस्तर नियन्त्रणलाई कडाई गरेपछि आयातकर्ताले कागजी कारबाही पूरा गर्नुपर्ने हुन्छ।

दुबई नगरपालिका र युएईको जलवायु परिवर्तन तथा वातावरण मन्त्रालयका अनुसार तरकारी आयात गर्न चाहने व्यापारीले पहिले आयात अनुमति पत्र लिनु पर्छ। साथै, निर्यातकर्ता देशको कृषि मन्त्रालयबाट जारी फाइटोसेनिटरी प्रमाण पत्र, स्वास्थ्य प्रमाण पत्र र गुणस्तर आश्वासन प्रमाण पत्र अनिवार्य लिनुपर्छ।
कीटनाशक अवशेष मुक्त प्रमाण पत्र, जीएमओ मुक्त प्रमाण पत्र र विकीरण प्रमाण पत्र पनि त्यहाँको भन्सारले माग्छ। यी सबै कागजात नभएमा सामान बन्दरगाहमा रोकिने जोखिम छ। हाल दुबईमा ताजा तरकारी र फलफूल सबै किसिमका करबाट मुक्त छन्। यसले आयातकर्तालाई केही राहत हुन्छ।
भन्सार विभागका अनुसार सामान आइपुगेपछि फाइटोसेनिटरी निरीक्षण र गुणस्तर मूल्यांकन गरिन्छ। कीट र रोगहरूको विस्तृत जाँच गरेर मात्र बजारमा बिक्री गर्न दिइने गरिएको छ। यी समस्याको समाधानका लागि धेरै आयातकर्ताले भन्सार दलालको सेवा लिइरहेका छन्।