काठमाडौं। तनहुँको म्याग्दे गाउँपालिका २ उमाचोकका विश्वबहादुर अधिकारीले यस वर्ष ९० लाखको सुन्तला बिक्री गरे। जिल्ला विकास समिति तनहुँका पूर्वसभापति अधिकारी सुन्तला खेतीबाट सन्तुष्ट छन्।
गाउँको भिरालो जमिनलाई सदुपयोग गरी अधिकारीले विसं २०५२ देखि व्यावसायिक सुन्तला खेती सुरु गरेका थिए। सुन्तला खरिदका लागि बगानमै ठेकेदार आउने गरेको बताउँदै उनले बजारमा समस्या नरहेको बताएका थिए।
यस्तै, व्यास नगरपालिका १३ बेनीकोटका कृषक दलबहादुर थापाले यस वर्ष १६ लाखको सुन्तला बिक्री गरे। उनले अघिल्लो वर्षको तुलनामा यस वर्ष तीन लाखको सुन्तला बिक्री भएको बताए।
विदेशबाट फर्किएर सुन्तला खेतीमा लागेका गिरबहादुरले यस वर्ष तीन लाख ५० हजारको सुन्तला बिक्री गरेको बताए। यी त केही उदाहरण हुन्। तनहुँका कृषकले यस वर्ष मात्रै ४५ करोड ५० लाखको सुन्तला बिक्री गरेका छन्। गत वर्ष किसानले ४२ करोड ५० लाखको सुन्तला बिक्री गरेका थिए।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारले यस वर्ष ५८२२ मेट्रिक टन सुन्तला बिक्री भएको जानकारी दिए। उनका अनुसार यस वर्ष ११८२१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। जिल्लामा १६७० हेक्टर सुन्तला खेतीको क्षेत्रफल रहेकामा ९७७ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको परियारले जानकारी दिए।
त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा ३० करोड बराबरको सुन्तला उत्पादन भएको थियो। त्यतिबेला तीन हजार ७५० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो। जिल्लामा सुन्तलाखेतीतर्फ आकर्षण बढेसँगै सुन्तला उत्पादनमा वृद्धि भएको परियारको भनाइ छ।
तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौंका व्यापारीले लैजाने गरेका छन्। सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन्। काठमाडौंका अलवा पोखरा, नारायणगढलगायतका ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ। जिल्लाका अधिकांश ठाउँमा व्यापारी नै बगैँचासम्म पुगेर सुन्तला खरिद गर्ने गरेका छन्।